प्रकृती र संस्कृतिको रक्षा गर्दै शिक्षाको विकासमा जोड दिन सुझाव – दुतावासका काउन्सुलर डा. शर्मा
भवानी अधिकारी
स्याङजा, १४ माघ ।
नेपाल स्थित भारतीय राजदुतावासका काउन्सुलर डा. प्रफुल्चन्द्र शर्माले नेपालको प्रकृती र संस्कृतिको रक्षा गर्दै शिक्षामा जोड दिन सुझाव दिएका छन् । मुलुककै बौद्धिक क्षेत्रको रुपमा परिचित स्याङ्जाको प्रकृतिमा रम्दै पढ्न पाउनुको अवसर काठमाण्डौंको कोलाहलमा नमिल्ने बताउदै उनले जीवननै एउटा बिद्यार्थी जस्तै भएको बताएका थिए ।
स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दे काउन्सुलर शर्माले भारत जस्तै नेपाल पनि विकसित मुलुक भएकाले दुबै देशले शिक्षामा जोड दिदै एकसाथ अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, ‘अब रोटी र बेटीका सम्बन्ध होइन, यसले संकुचन गर्छ, शिक्षाले मुलुक समृद्ध बन्छ ‘सबका साथ सबका विकास’ भन्दै अघि बढ्नुपर्छ ।
क्याम्पस भवन निर्माणका लागि भारतीय जनताको योगदान रहेको भन्दै शिक्षाबाट धेरै फाइदा लिन आग्रह गरेका थिए । ‘क्याम्पसबाट फाइदा लिन जान्नेका लागि अमूल्य अवसर हो भने लिन नजान्नेका लागि ढुंगाा र माटो सरह हो ।’ पुस्तक पढेर मात्र शिक्षा पाउन नसकिने बताउदै उनले ‘शिक्षक, अभिभावक, पुस्तक र ब्यवहार’ सबैलाई २५÷२५ प्रतिशतमा बिभाजन गरेर शिक्षा लिन सुझाव दिए ।
कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष एवं पूर्व शिक्षामन्त्री गोपालमान श्रेष्ठले अवको शिक्षा कोरा नभई जीवन उपयोगी हुनुपर्ने बताए । रोजगारका नाँउमा लाखौं युवा अरबका खाडीमा जान वाध्य नेपालीलाई प्राबिधिक शिक्षा एवम् सीसीभीटी मार्फत टेक्निकल इन्सिच्युट संचालन गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए । सोही अवसुरमा पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले नेपालको भूभाग कसरी भारतीय नक्साभित्र छि¥यो कुटनितिक पहलद्धारा समाधान गरि दुई देशबीचको भाइचाराको सम्बन्ध छिटोछिटो समाधान गरी सुमधुर बनाउन समेत गरेका थिए ।
२०४६ सालमा प्रजातन्त्रको स्थापनापछि २०४८ सालमा त्रिभुवन क्याम्पस स्थापना गरिएको हो । तत्कालिन अवस्थामा नेपाली काँग्रेसका जिल्ला सभापती भएका वेला गोपालमान श्रेष्ठकै पहलमा स्थापना भएको थियो । सोही वेलामा एउटै प्राङ्गणमा बिद्यालय र क्याम्पस संचालन गरिएको हो । सदरमुकाममा रहेका २ वटा माध्यमिक बिद्यालयमा उच्च शिक्षा नभएपछि यहाँका बिद्यार्थी अन्य शहरमा जानु पर्ने वाध्यता थियो । उच्च शिक्षाका लागि जिल्ला वाहिर जानु पर्ने वाध्यता हटाउदै आइ ए (प्रविणता तह) वाट सुरु गरिएको सो क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुदै आएको छ ।
क्याम्पस भवनको जग्गा खरिदका लागि महायज्ञ मार्फत रकम संकलन गरिएको थियो । २ करोड ४२ लाख रकम संकलन भयो । बिष्णुपधेरा नजिक दश रोपनी क्षेत्रफलका जग्गा खरिद गरियो । सोही जग्गामा भारत सरकारको ४ करोड ४२ लाख र क्याम्पसको ३१ लाख ३९ हजारगरी ५ करोड २७ लाखको लागतमा क्याम्पस भवन निर्माण गरिएको हो । गीता क्रियटिभ कन्स्ट्रक्सनद्धारा निर्मित २ तले भवनमा २४ कोठा, ४ वटा शौचालय सहित कम्प्यूटर र लाइव्रेरी रहेका छन ।
उदघाटन कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, समाजवादी पाटीका केन्द्रीय सल्लाहकार समिति सदस्य पमनारायण अर्याल, निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, स्थानीय समाजसेवी गोबरधन श्रेष्ठ, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, त्रिभुवन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिल चापागाई, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल, क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, क्याम्पस संचालक समितिका सदस्य लोकराज शर्मा, उपाध्यक्ष विश्वप्रेम अधिकारी, प्राध्यापक बाबुराम सिग्देल लगायतले क्याम्पसको बृहत्तर हितका लागि सबैले आ आफना क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
विस २०७३ जेठ ३१ गते भारतीय राजदूत रणजीत रायले शिलान्यास गरेका थिए । भारतीय दूतावासले क्याम्पसका लागि एउटा बिद्यार्थी बोक्ने वस समेत उपलब्ध गराएको छ । पुतलीबजार नगरपालिका १ मालेबगर नजिक रहेको क्याम्पसमा ५ सय ३ जना बिद्यार्थी अध्ययरत छन भने २० प्राध्यापक र ४ जना कर्मचारी कार्यरत छन ।
त्रिभुवन आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष गोपालमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विश्वप्रेम अधिकारीले स्वागत, सदस्य लोकराज शर्माले धन्यवाद एवं प्राध्यापक बाबुराम सिग्देलले संचालन गरेका थिए । कार्यक्रममा भारतीय काउन्सुलर डा प्रफुल्चन्द्र शर्मा र गीता कन्स्ट्रक्सन एवं भवन निर्माणकर्ता अर्जुन कार्कीलाई सम्मान गरिएको छ ।