भवानी अधिकारी / स्याङजा, ८ माघ ।
इन्टेग्रीटी आइकन नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङजाको समन्वयमा इन्टेग्रीटी समिट एवं प्रशासन भित्र सदाचारिताको बिषयमा छलफल गरिएको छ ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले राष्ट्रसेवक कर्मचारी लगायत सबैले आ आफना संस्थागत जिम्मेवारी निष्ठापूर्वक पुरा गरेमा मात्र समाजमा सकारात्मक प्रभाव पर्ने बताइन । राष्ट्रसेवक समाजका ऐना भएको बताउदै उनले सबै राष्ट्रका सेवकहरुले आत्म समिक्षा एवं स्वयंमूल्यांकन गर्दै सदाचारितालाई अवलम्बन गर्न आग्रह गरिन् ।
कार्यक्रममा समाजसेवी रामचन्द्र भट्टराई, नागरिक निगरानी समूहका उपाध्यक्ष लोकनाथ रेग्मी, डिभिजन बन कार्यालयका प्रमुख कोमल काफले लगायतले राष्ट्रसेवक कर्मचारीका बारेमा आ(आफना धारणा ब्यक्त गरेका थिए ।
यसैगरी, सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले कर्मचारीमा निष्ठाको खोजी बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । भने इन्टीग्रेटी आइकनका अस्मिता शर्माले इन्टेग्रीटी समिटका बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सहभागीका जिज्ञासालाइृ जवाफ दिदै राष्ट्रसेवक कर्मचारीले आफुलाई सच्चाउनुको बिकल्प नरहेको बताए । अहिले पनि कर्मचारीका ब्यवहारले सर्वसाधारण नागरिकले सहज रुपमा सरकारी सेवा सुबिधामा कठिनाई भोग्नु परेको बताउदै निष्ठापूवर्क सेवामा लाग्न राष्ट्रसेवक सबैलाई आग्रह गरेका थिए ।
निजामित सेवामा युवाहरुको आकर्षण बढाउने उदेश्यले बिभिन्न बिधामा प्रतिप्रर्धा गराई उत्कृष्ठ राष्ट्रसेवक चयन गर्ने प्रक्रिया सन २०१४ देखि थालनी भएको शर्माको भनाई छ । सर्वसाधारण नागरिकले मनोनयन गर्ने प्रावधान रहेको छ । सन २०१८ मा बर्दियामा रहदा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ इन्टेग्रीटी आइकनमा छनौट भएका थिए । नेपाल लगायत बिभिन्न ९ वटा देशमा समेत यस्ता प्रतिस्पर्धा हुने गरेको आयोजकले जनाएको छ ।
यसैगरी, स्याङजामा पनि १४ औं इन्टेग्रीटी आइन प्रतिस्पर्धा गराउने जानकारी दिइयो । कर्मचारीलाई जवाफदेही बनाउने र सरकारलाई प्रत्यक्ष सहयोग गर्ने लक्ष्य सहित आइकन प्रतिस्पर्धा गराईने भएको हो ।
एक बर्षमा ५ जना सरकारी कर्मचारीलाई सम्मान गर्ने जनाइएको छ । छलफल कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधी, शिक्षक, प्रधानाध्यापक, बिद्यार्थी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।