भवानी अधिकारी
स्याङ्जा, ४ माघ ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले हरेक ब्यक्तिका धार्मिक स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस रहेको बताएका छन् ।
नेपाल मुस्लिम संघ स्याङ्जाको तेस्रो जिल्ला अधिवेशनलाई शनिबार स्याङ्जाको पार्टी कार्यालयमा उदघाटन गर्दै महतले बहुल बिचार, आस्था र धर्मप्रति सम्मान गर्दै कांग्रेसको चार तारा मध्ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतिक रहेको बताए ।
राष्ट्रियताका ठूला कुरा गरेर चुनाव जितेको नेकपाले अहिले जनचाहना बमोजिमका काम गर्न नसकेको आरोप लगाउदैं समृद्ध र सुखी नेपालीको नारा दिएको सरकारले संबैधानिक निकायलाई समेत तर्साउने काम गरेको बताए । ‘सबै निकायमा तरवार झुण्डाइएको छ । प्रेस र अभिब्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने बिधयक ल्याइएको छ ।’ महतले भने ‘दुई तिहाइको दम्भ देखाउदै प्रहरी प्रशासनलाई तर्साउदै फरक राजनतीतिक आस्थाकै कारण बिभिन्न लान्छना लगाउने काम भएको छ ।’
पूर्व मन्त्री समेत रहेका डा. महतले बर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको आरोप लगाए । ‘अरबौंका खेल हुने गरेका छन । बाडडबडी, गोकर्ण, बालुवाटार लगायत बिभिन्न कतृत र अपराधिकरणमा सरकारले वास्ता गरेको छैंन । नेपालका साध सिमा मिचिदा समेत सरकार मुकदर्शक बनेको छ ।’ नेकपाले अनेकौं भ्रम छरेर सत्तामा पुगेको र सत्तामा पुगेपछि सबै बिर्सेको बताए । समृद्ध र सुखी नेपालीको नारा दिएको दुइ तिहाईको कम्यूनिष्ट सरकारले संबैधानिक निकायमा हस्तक्षेप गरेको बताउदै धार्मिक स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रतालाई अकुंश लगाउन उद्धृत देखिएकोमा जोड दिएका थिए ।
उनले मुलुकको विकासका लागि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) को सहायता अनुदान रकम स्वीकार्नुपर्ने बताए । एमसीसी परियोजनाले विद्युत र सडक जस्ता पूर्वाधार विकासमा सहयोग पुरयाउने र अमेरिकी सेना नेपाल आउने भन्ने कुरा कहीं उल्लेख नै नभएको बताएका छन् ।
नेपालका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा संझौता भएपश्चात अर्थमन्त्रालयमा कार्यालय समेत स्थापना भएको जानकारी गराए । नेपालको विकासका लागि झण्डै ६३ अरब अनुदान रकम सहायता स्वीकारगरी मुलुकको बिकास र समृद्धीमा खर्चिन सुझाव दिदै सहमहामन्त्री महतले सडक निर्माण र बिद्युत्तीय लाइन बिस्तार गरी सीमापार बिद्युत ब्यापारमा सहयोग पुग्ने बताए । सडक सुधार, जलविद्युत एवं अन्तरदेशीय प्रसारण लाइन विस्तारका लागि अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) मार्फत प्राप्त अनुदानलाई उपयोग गर्न उनको सुझाव छ ।
कार्यक्रममा मुस्लिम नेता एवं पूर्वमन्त्री फरमूल्लाह मन्सुर, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, संबिधानसभा सदस्य राजु थापा, मुस्लिम संघका केन्द्रीय अध्यक्ष हाजि अब्दुल सतार, केन्द्रिय उपाध्यक्ष हाजि रफिक मिया, केन्द्रिय महासचिव एवं संबिधानसभा सदस्य मुस्तफा आलम, केन्द्रिय सदस्य सवनम बानु, मुस्लिम संघका गण्डकी प्रदेश अध्यक्ष हाजि शाह मोहम्मद लगायतले समाज रुपान्तरण र ब्यवस्था परिवर्तनका खातिर महत्वपूर्ण योगदान र बालिदान गर्ने धर्मप्रति आस्थावान मुस्लिम समुदायको हक, आर्थिक, राजनैतिक, सांस्कृतिक एवं धार्मिक अधिकार र स्वतन्त्रताका लागि लोकतान्त्रिक बिचारसंग समाहित हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।
यसैगरी, नेपाली कांग्रेस स्याङजाका महासमिति सदस्य तुलसी गिरी, नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, चापाकोट नगरप्रमुख शिव गिरी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, हाजि नसिबद्धिन मिया, मुस्लिम संघका संस्थापक मुन्ना शेख, हाजि करिम मिया बर्तमान सरकारले मुस्लिम समुदायलाई उपेक्षा गरेको बताउदै बिगतमा दिइदै आएको विदा समेत कटौती गरेकोमा दुख ब्यक्त गरेका थिए । हरेक क्षेत्रमा मुस्लिम समुदायको सहभागीता सुनिश्चिताको समेत माग गरेका थिए ।
नेपाल मुुस्लिम संघ स्याङ्जाका अध्यक्ष हाजि शाह मोहम्मद मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाजि यासिन खाँले कुरान वाचन गरेका थिए भने मुस्लिम संघका उपाध्यक्ष नुर मोहम्मद मियाले स्वागत एवं सचिव सेैशुद्धिन मिया र मुस्लिम संघ स्याङ्जाका संस्थापक मुन्ना शेखले संचालन गरेका थिए ।