काठमाडौं, २४ पौष ।
नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विद्येयकको दफा दफामा छलफल गर्न सरकारका प्रवक्ता तथा सूचना, प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई चुनौति दिएका छन् ।
नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले चुनौति दिएका हुन् । नेता थापाले गगन थापाले काम गरेर जनताको मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयक ल्याएको आरोप समेत लगाए ।
सरकारले कानुन बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको उनको भनाई छ । उनले भने “यो विधेयकको धारा धारामा दफा, दफामा छलफल गर्न तयार छौं । माननीय मन्त्री ज्यूले भन्नुभएछ, विधेयक नपढीकन आयो । यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्री जी ? सिंहदरबारमा गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो ? कि तिम्रो कार्यालय धुम्बराहीमा गर्ने हो ? प्रत्येक दफा दफामा, शब्द, शब्दमा छलफल गर्न तयार छु ।
नपढीकन आएको होइन । पढेर, बुझेर आएको छु । हेप्ने, हाम्लाई नपढीकन आयो भन्ने ?” उनले प्रधानमन्त्री कमजोर भएर सरकारका कामकारवाहीप्रति सचेत जनताको मुख थुन्न गलत नियतका साथ विधेयक ल्याईएको दाबी गरे । उनले अघि भने, ‘बोल्न लेख्न पाउने हक सरकार संरक्षित अरिङ्गाललाई मात्र रहन्छ ।’ प्रधानमन्त्री कायर भएकाले यस्तो कानून आएको उनको तर्क छ । नेता थापाले भने, ‘प्रधानमन्त्री अस्वस्थ हुनुहुन्छ । म स्वास्थ्य लाभको कामना गर्छु । तर हामी सबैलाई थाहा छ, उहाँ साँझ २/३ घन्टा सामाजिक सञ्जाल हेर्नुहुन्छ । त्यो पढ्दै गर्दा जब प्रश्न गरेको, आलोचना गरेको देख्नुहुन्छ, सहन सक्नुहुन्न ।’