वालिङ, २३ मंसिर ।
समाजमा जनचेतनाको अभावका कारण असुरक्षित गर्भपतन दिन प्रतिदिन वढ्दै गइरहेको अवस्थामा वालिङ नगरपालिकामा यसको नियन्त्रणका लागि छलफल तथा अन्तरक्रिया सुरु भएको छ ।
सुरक्षित गर्भपतन सेवाको सुदृढिकरणमा वालिङका जनप्रतिनिधि, स्वास्थ्य शाखा र सुरक्षित गर्भपतन सेवा सम्वन्धी काम गर्ने संस्था आईपास नेपालका प्रतिनिधि बिच छलफल तथा अन्तरक्रियामा प्रजनन स्वास्थ्य सम्बन्धी अझै खुलेर कुरा गर्न नसक्ने समाजमा जनचेतना फैल्याउन आवश्यक रहेको बताएका हुन् ।
छलफलमा नगर प्रमुख दिलिपप्रताप खाँणले गर्भपतन सम्वन्धी समाजमा रहेका नकारात्मक धारणाहरुको परिवर्तन हुन जरुरी रहेको बताएका छन् । गर्भपतनका बारेमा अझै समाजमा भ्रमहरु बिद्यमान रहेकाले महिलाहरु खुलेर सुचिकृत स्वास्थ्य संस्थाहरुमा आउन नसकेको उनको धारणा छ ।
त्यस्तै उपप्रमुख कल्पना तिवारीले आफ्नो स्वास्थ्यमा पुर्ण ध्यान दिनुपर्ने भन्दै सुरक्षित गर्भपतनको बारेमा सबै महिलाहरु जानकार हुुनुपर्ने बताईन । समुदाय स्तरमा सुरक्षित गर्भपतनको बारेमा सूचना तथा जानकारीको अभाव रहेको पाईएकाले सुरक्षित गर्भपतन र सुचिकृत स्वास्थ्य संस्थामा उपलब्ध सेवाको वारेमा समुदाय स्तरसम्म जानकारी प्रवाह गर्न जनप्रतिनिधि सचेत रहनु पर्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा आईपासका गण्डकी प्रदेश अर्डिनेटर थमकुमारी कुँवर र वालिङ नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले सुरक्षित गर्भपतन सेवा सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले मान्यता प्राप्त स्वास्थ्य संस्थामा गएर कानुनी प्रावधानभित्र रहेर सुरक्षित गर्भपतन गराउन नागरिक स्तरमा चेतना फैलाउने कार्यमा नगरपालिकाले योजनाका साथ अगाडी वढ्ने बताए ।
कार्यक्रम सामाजिक विकास समितिका संयोजक एबं कार्यपालिका सदस्य युगमाया पंगेनीकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।