मिना कंडेल
नवलपुर ३ असोज
संविधान जारी भएको दिनको अवसरमा शुक्रवार पूर्वी नवलपरासी सहित देशैभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । ४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । पूर्वी नवलपरासीमा भने वृक्षारोपण एवम् विरामीहरुलाई फलफूल वितरण गरेर मनाइएको छ ।
कावासोती १६ डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगरले लामो संघर्षबाट प्राप्त जनताको संविधान कार्यान्वयन गर्न सबै एक जुट हुनुपर्ने बताए । संविधान जारी भएपछि धेरै उपलब्धिपुर्ण काम भएको भन्दै उनले संविधानमा केहिको असहमति भएपनि त्यसलाई संशोधन गर्न सकिने भएकाले संविधान कार्यान्वयनको प्रक्रियामा सबै लाग्नुपर्नेमा जोड दिए । यस्तै जिल्ला समन्वय प्रमुख चेसराम आले संबिधानले सबैको भावनालाई संबोधन गरेको दावी गर्दै राजनैतिक आग्रह र पुर्वाग्रहमा नलागी यसको पालना हामी सबैले गर्नुपर्ने धारणा व्यक्त गरे ।
संविधान दिवसको अवसर पारेर सत्तारुढ दल नेकपा लगायतले उत्सवको रुपमा मनाउँदै गर्दा आदिवासी जनजाति महासंघ, नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनता पार्टी लगायतले कालो दिवसको रुपमा मनाएका छन् । जनआन्दोलन पछि निर्वा्चित संविधान सभाले संविधान निर्माण गर्दा सबैको अधिकार सुनिश्चित गर्न नसकेको ठहर गर्दै उनीहरुले विरोध स्वरुप कालो दिनको रुपमा मनाउँदै आएका छन् । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै यसका कतिपय प्रावधान संशोधन गर्न उनीहरूले माग गरेका छन् ।
त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसर २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।