वालिङ २६ भदौ ।
मानवताको सेवा जीवनको सवोत्तम कार्य हो, भन्ने आस्थाका साथ जेसीज अभियानका अभियान्ता, वालिङ जेसीजका अध्यक्ष राजु तिवारीले आफ्नो जन्म दिनको अवसरमा वुधवार वेलुक मानव सेवा आश्रम पोखरामा पुगेर आफ्नो जन्मदिन मनाएका छन् ।
सडकका सहयोगापेक्षी मानवको उद्दार, संरक्षण र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन समेत गराउदै आइरहेको मानवसेवा आश्रम पोखराको संरक्षणमा रहेका मानिसहरुलाई एक छाक खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् ।
एक छाक खाना खर्च वापतको रु १२ हजार ५ सय रुपैया मानव सेवा आश्रम पोखराका राजन सापकोटालाई हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै तिवारीले जन्म दिन मनाउने नयाँ चलनलाई परिमार्जन गर्दै सामाजिक र मानवताको सेवामा खर्च गर्ने निर्णय गरेको वताए । मानव सेवा आश्रमको परोपकारी कार्यको सम्मान गर्दै तिवारीले आफूहरुले पनि आश्रम संगको सहकार्यमा वालिङ नगरपालिकालाई सहयोगापेक्षी सडक मानव रहित नगरपालिका निर्माण गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा वालिङ जेसीजका पूर्व अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । सोही अबसरमा भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले जन्मदिनको अवसरमा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्च यस्ता सामाजिक कार्यमा खर्च गर्नका लागि वालिङ जेसीजका अध्यक्षवाट सबैले पाठ सिक्नुपर्ने वताए ।
यस अघि भिरकोट जेसीजकी कार्यकारिणी उपाध्यक्ष वर्षा पंगेनीले पनि एक छाक खाना खुवाएकी थिइन् । उनले वालिङ जेसीजलाई हस्तान्तरण गरेको १२ हजार पाँच सयको चेक पनि सोही अवसरमा मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको थियो । जेसीजले हालसम्म १० जनालाई सडकवाट उद्दार गरी आश्रममा लगेको समेत उनले जानकारी दिए ।