पर्वत ५, भदौ । पर्वतरम्याग्दी र मुस्ताङ्गलाई राजमार्ग संग जोडने मालढुंगा –बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द गरिने भएको छ । दैनिक आठ–आठ घण्टाको बन्दले यात्रुलाई सास्ती हुने भएको छ । पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्बपक्षिय बैठकले कालीगण्डकी नदीमाथि निर्माण भैरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग ९एङ्गर ब्लक० निर्माण गर्नुपर्ने हुँदा मालढुंगा – बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको छ । कार्यालयका अनुसार भदौ ५ गते बिहीबारदेखि १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको दमुवाखोलासम्म सडक बन्द हुनेछ । ‘निर्माण ब्यबसायीले सडकमा संभावित जोखिम न्युनीकरण गर्न बन्द गर्नुपर्ने माग गरेपछि सर्बपक्षिय बैठकबाट सडक बन्द गर्ने निर्णय भएको हो’ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले वताइन् । ‘काम नसकिएको अबस्थामा तीज लगायतका पर्व पछि पनि सडक बन्द हुनेछ ।’
दैनिक ८ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । साना र हल्का सवारी साधनहरु पर्वतको सहस्रधाराबाट पाङ्ग हुँदै दमुवाखोला सम्मको बैकल्पिक सडक समेत प्रयोग गर्न सकिने छ । यो सडकको धेरै भाग कच्ची भएका कारण ठुला सवारी साधनहरु चल्न सक्दैनन । छलफलमा सहभागी यातयात ब्यबसायीहरुले दिउँसोको समयमा एक घण्टा सडक खोल्नु पर्ने र मध्य पहाडी लोकमार्गको पर्वत खण्डमा स्तरउन्नतीका क्रममा बनेका ठुला ठुला खाडलहरु पुरेर सडकमा सहज आवगमन हुने ब्यबस्था मिलाउन समेत आग्रह गरेका थिए ।
यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योग बाणिज्य सघं, पत्रकार महासंघका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले पनि सडक बन्द गर्ने निर्णय गरेको थियो । हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ । यो झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ ।