स्याङ्जा –९ वैशाख । मत्स्य विकास केन्द्र मिर्मी र वालिङ नगरपालिकाको सहकार्यमा लायन्स क्लव अफ वालिङ ग्रिन होमद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा माछाका भुरा छाडिएको छ ।
आँधीखोलामा विभिन्न कारणवाट माछा उत्पादनमा असर परेको कारण वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको लायन्स क्लव अफ ग्रिन सिटीका प्रथम उपाध्यक्ष विश्व खड्काले जानकारी दिए । आँधीखोलामा माछाको संख्या कम हुँदा खोलाको जैविक विविधता र पानीको सुद्धिकरणमा समेत अषर परेको हुँदा माछाको संख्या वृद्धि गर्ने उद्देश्यले भुरा छाडिएको उपाध्यक्ष खड्काले वताए ।
करेन्ट र विषादी प्रयोगले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको वालिङ नगरपालिका वडा नं ८ का अध्यक्ष दामोदर तिवारीले जानकारी दिए । विभिन्न संघ संस्थाले आँधीखोलाको मौलिकता संरक्षणमा जोड दिनुपर्ने समेत वताएका थिए ।
आँधीखोला सहर जातको माछाका लागि उपयुक्त भएका हुनाले सहर जातका माछाको भुरा छाडिएको मत्स्य पालन केन्द्र मिर्मीका प्रमुख रविन अधिकारीले जानकारी दिए । माछाको संरक्षण हुनु भनेको पर्यावरणको समेत जगेर्ना रहेको उनले जानकारी दिए ।