स्याङ्जा-७ असार ।
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा सरोकारवाला तथा नागरिकसंग सुझाव संकलन गरेको छ ।
मंगलवार नगरपालिकामा आयोजित कार्यक्रममा आ.व.२०७९/०८० को नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुको सुझावहरु सङ्कलन गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नागरिकहरुले उठाएका विषयमा नगरपालिकाले विशेष प्राथमिकताका साथ योजना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नागरिकहरुको रायबाट नै नगरको चौतर्फी विकास गर्न सकिने उल्लेख गर्दै टोल टोलमा भएका समस्याहरुलाई जनप्रतिनिधिहरु माझ जानकारी गराउन अनुरोध गरेका छन् ।
नगर विकासमा समग्र नगरबासी र जनप्रतिनिधिबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरप्रमुख खाँणले समस्यालाई समाधान गर्न सबैले हातेमालो गर्नुपर्ने सुझाव समेत व्यक्त गरेका छन् ।
नगर प्रमुख खाँणले सीमित बजेटको परिधिमा रहेर नागरिकका धेरै कामहरु गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोले नगरको नीति तथा कार्यक्रममा नागरिकका आवश्यकतालाई समेट्ने प्रयास सदैव रहने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा नगरउपप्रमुख कविता गैह्रेले नगरपालिको हरेक आर्थिक वर्षमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा महिला सशक्तिकरण,स्वरोजगार तथा न्यायिक पक्षलाई महत्वका साथ अवलम्बन गरिने वताईन । पूर्व जनप्रतिनिधिले ल्याएका महत्वपूर्ण विकासका कार्यक्रमलाई निरन्तरता दिदै स्मार्ट सिटिको परिकल्पना अनुरूपको कार्यक्रमलाई समेत निरन्तरता दिने जानकारी दिईन् ।
स्मार्ट नगरका स्मार्ट नागरिक बनाउने अभियानलाई सार्थक बनाउन आवश्यक कार्यक्रम, नीति तथा बजेटको व्यवस्था गरिने नगर उपप्रमुख गैह्रेको भनाई छ । स्थानीय तहमा आफू निर्वाचित भएको दिनवाट हालसम्मको अनुभव नागरिकको गुनासो मात्र आउने भएका हुँदा गुनासो सम्वोधनहुने गरि नागरिकमैत्री बजेट बनाउन लागेको समेत जानकारी दिईन ।
वालिङ नगरपालिकाले आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम वुधवार प्रस्तुत गर्दैछ ।
नीति,कार्यक्रम तथा बजेट माथिको छलफल कार्यक्रममा नागरिकहरुले खानेपानी, ढल निकास, सडक स्तरोन्नती, फोहोरमैला व्यवस्थापन तथा स्वरोजगारका विषयमा सुझाव दिएका छन् ।