स्याङ्जा, १२ साउन ।
निषेधाज्ञामा विद्यालय सन्चालन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आठ जना प्रधानाध्यापक लाई नियन्त्रणमा लिएर छाडेको छ । निषेधाज्ञा अवधीमा भौतिक रुपमा विद्यालय संचालन गरेर पठनपाठन गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर छाडेको हो ।
कोरोना संक्रमणलाई थप फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी राखेको अवधीमा पठनपाठन संचालन गरेपछि उनीहरुलाई सम्झाई बुझाई छाडेको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले बताए । प्रवक्ता अधिकारीका अनुसार ७ सार्वजनिक विद्यालय र १ संस्थागत विद्यालयका प्रधानाध्यापकलाई अब प्रशासनको आदेश बेगर विद्यालय संचालन नगर्ने सहमति पछि छाडेको बताए ।
बैशाख २१ गतेदेखी पटक पटक थप गरी जिल्लामा प्रशासनले निषेधाज्ञा लगाउदै आएको छ । निषेधाज्ञा अवधीभर विद्यालयमा पठनपाठन नगर्न आदेश जारी गरेको छ । यसको उल्लघंन गर्दै भीरकोट, पुतलीबजार र चापाकोटका केही विद्यालयले पठनपाठन संचालन गरेका थिए ।
सुचनाको आधार र प्रहरीको प्रत्यक्ष अनुगमनबाट भेटिएपछि पहिलो पटक प्रअहरुलाई सम्झाएर छाडिएको थियो । अव आइन्दा विद्यालय संचालन गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार कारवाहि हुने प्रवक्ता अधिकारीले बताए । प्रशासनले जारी गरेको आदेशमा भौतिकरुपमा संचालन हुने विद्यालय, क्याम्पस लगायत शैक्षिक संघसंस्था बन्द गरी अनलाईन विधिबाट पठनपाठन गराउन उल्लेख गरेको छ ।