स्याङ्जा, असोज १७। जिल्ला बाल क्लब सञ्जाल स्याङ्जाको पुनर्गठन गरिएको छ। शनिबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा सुप्रिया क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला बाल क्लब सञ्जालको समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका महत्वपूर्ण सरोकारवाला भएकाले उनीहरूको विचार र सहभागितालाई निर्णय प्रक्रियामा समेट्नुपर्ने बताए।
प्रदेश बाल परिषद्का सल्लाहकार सुदिप पौडेलले बालअधिकार, बाल क्लबको भूमिका र आगामी कार्यदिशाबारे सहजीकरण गरेका थिए। एकीकृत सेवा कार्यालयका प्रमुख निराजन शर्माले नयाँ नेतृत्वले जिल्लाका सबै स्थानीय तहका बालबालिकाको आवाज समेट्दै बालअधिकार संरक्षण र क्षमता विकासमा काम गर्नुपर्ने बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष सुजाता पौडेलले पछिल्लो दुई वर्षका गतिविधि प्रस्तुत गरेकि थिइन् ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, विद्यालयका विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। अन्त्यमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा निवर्तमान पदाधिकारीलाई प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो।