भवानी अधिकारी
स्याङजा, १५ असार । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा सूर्योदय क्लवकोे व्यवस्थापनमा पुतलीबजारमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत मंगलबार सरोकारवालबीच समिक्षा भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सीमा क्षत्रीले परियोजनाले पुतलीबजारमा राम्रो प्रभाव पार्न सफल भएको वताइन् । उनले राजनैतिक ब्यवस्था परिवर्तनका आन्दोलन सबै सकिएकाले अव नगर समृद्धतर्फ सबैको ध्यान जानु पर्नेमा जोड दिइन् । हाम्रा शत्रु भनेका कोभिड र गरिबी रहेको उनको भनाई थियो । गरिवी र कोभिडलाई जित्नका लागि ब्यवसायिकतामा जोड दिनु पर्ने बताउदै नगर प्रमुख क्षेत्रीले यस्ता कार्यक्रमलाई नगरपालिकाको साथ, सहयोग र निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल, नेकपा एमाले नगर अध्यक्ष तारा शर्मा, नेपाली कांग्रेसका नगर सभापति वेदप्रसाद दोरंगाा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महिला संघ प्रमुख पूर्णकुमारी गुरुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय प्रमुख माधव लम्साल, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, सचिव रमेश गोदार, च्याम्बर अफ कमर्शका पिताम्बर गौतम लगायतले कार्यक्रमको क्षेत्र बढाउदै निरन्तरता दिनुपर्ने वताएका थिए ।
कोभिडका कारण प्रभावित परिवारलाई लक्षित गर्दे संचालित परियोजना पुतलीबजार नगरपालिकाका १४ वडामा संचालन गरिएका थिए । कृषिका माध्यमबाट आयआर्जनमा जोड दिने उदेश्यले संचालित करिब एक बर्षे कार्यक्रमको समायावधी समिक्षासंगै सम्पन्न भएको परियोजना संयोजक एलिना ढकालले जानकारी दिइन् ।
एक करोड ९४ लाखको बजेट रहेको परियोजनाबाट ५ सय ३९ जना किसान लाभान्वित भएको जनाइएको छ । परियोजना अन्र्तगत तरकारी नर्सरी, नमूना गड्यौला मल उत्पादन प्लान्ट, कृषि यान्त्रिकरण मर्मत, तेलहन वाली प्रवद्र्धन, उत्पादनमा आधारित अनुदान कार्यक्रम, ब्यावसायिक बाख्रापालन, स्थानीय कुखुरा उत्पादन केन्द्र, सुन्तलाको बोक्रावाट जुस बनाउने तालिम, कस्टम हाइरिङ सेन्टर, नविन सोच लगायतका क्षेत्रमा काम गरेको संयोजक ढकालद्धारा प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।