तोलाकान्त बगाले
वालिङ, २ जेठ । वालिङ नगरपालिका १४ को कपासे गाउँलाई सिल गरिएको छ ।
विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ का सङ्क्रमितहरु देखापरेसँगै रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको हो । नगर प्रमुखसहित स्वास्थ्यकर्मीको टोलीले आईतबार गाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नुकासाथै आवश्यक पर्ने औषधि वितरण गरेको हो ।
“स्वास्थ्यकर्मी र औषधिसहित गाउँमा पुग्यौं” नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “८६ जनाको स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा कोभिडका लक्षण देखापरेपछि गाउँलाई नै सिल गरेका छौं ।” अर्को सूचना नहुँदासम्म उक्त गाउँमा बाहिरबाट कोही पनि नजान र गाउँका ब्यक्तिहरुलाई बाहिर आवत जावत नगर्न सुझाव दिईएको नगर प्रमुख खाँणले बताए ।
“सिङ्गै गाउँमा प्रत्येक ब्यक्तिलाई केही न केही स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ” प्रमुख खाँणले भने, “सङ्क्रमणको दर बढ्न नदिन र अन्यत्र फैलिन नदिनका लागि आवत जावतमा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको हो ।
” नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताउदै उनले स्वास प्रस्वास वा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा तत्काल नगरपालिका, वडा कार्यालय वा स्वास्थ्यचौकीमा सम्पर्क गर्न अनुरोध गरे । “कृपया रोग नलुकाउनुस् जे हो त्यही बेलैमा भन्नुस्” उनले भने, “समयमै हामीलाई खबर गरिदिनुहोस् सबै उपचारको ब्यवस्था हामी मिलाउँछौं, कहाँ पुर्याउन पर्ने हो हामी पु¥याउँछौं तर त्यसका लागि समयमै खबर गरिदिनुहोस् ।”
गाउँमा पुगेर लक्षण देखिएकाहरुको अक्सिजनको मात्रा, ज्वरोको जाँच गरिएको थियो भने लक्षणका आधारमा सबैलाई आवश्यक औषधि उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।