तोलाकान्त बगाले
वालिङ, ३१ बैशाख । वालिङ नगरपालिकाले निर्माण गरेको आईसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त भएको छ ।
विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ का बिरामीहरुको उपचारमा प्रयोग गर्नकालागि गह्रौ प्राथमिक अस्पतालमा रहेको आईसोलेसनलाई दाताहरुले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नका लागि नगर प्रमुख दिलीपप्रताप खाँणलाई नगद उपलब्ध गराएका हुन ।
वालिङ ८ ब्याङतुङ निवासी स्यानीदेवी सुबेदी, गोपालधन सुबेदी, टिकाराम सुबेदी र डाक्टर बालकृष्ण सुबेदीले दुई थान अक्सिजन खरिदका लागि रु. दुई लाख १३ हजार उपलब्ध गराएका हुन । उक्त चेक गोपालधन सुबेदीले नगर प्रमुख खाँणलाई आज हस्तान्तरण गरेका छ्न ।
त्यस्तै वालिङ वडा नं. ८ का वडा सदस्य एवं ब्यवसायी चेतनारायण श्रेष्ठले नगर प्रमुख खाँणलाई एक थान अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि रु. एकलाख ६ हजार हस्तान्तरण गरेका छ्न । त्यस्तै गरी वालिङ १० बर्तुङ निवासी डोलराज सुबेदीले सोही मेसिन खरिदका लागि रु. २० हजार सहयोग उपलब्ध गराएका हुन ।
सहयोग रकम बुझ्दै नगर प्रमुख खाँणले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि अत्यावश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि नगद उपलब्ध गराएर ठूलो गुन लगाएको भन्दै आभार ब्यक्त गरे । उनले प्राप्त रकमलाई बिरामीहरुमा अक्सिजनको कमि हुन नदिनका लागि कन्सन्ट्रेटर मेसिन खरिदका लागि प्रयोग गरिने बताए ।
नगरपालिकाले इच्छुक ब्यक्ति तथा संघ संस्थाहरु कसैले स्वास्थ्यसम्बन्धी सामग्री तथा उपकरणहरु उपलब्ध गराउन सक्ने ब्यहोराको आब्हान जारी गरेसँगै नगरपालिकालाई विभिन्न संघ संस्था तथा ब्यक्तिहरुमार्फत सहयोग आउनेक्रम जारी रहेको छ । यसअघि पनि वालिङस्थित सहकारी तथा अन्य संस्था गरी १८ वटाले १८ थान शैया सहयोगस्वरुप उपलब्ध गराएका थिए ।