तोलकान्त बगाले,वालिङ – स्याङ्जाको वालिङ नगरपालिकाको नवौं नगरसभाबाट १४ नं. वडालाई विभाजन गरेर दुई वटा वडा कायम गर्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।
आज भएको नगरसभामा वडा नं. १४ का वडाअध्यक्ष झम्मरबहादुर श्रेष्ठले हालको वालिङ नगरपालिकाको १४ नं. वडालाई विभाजन गरी दुई वटा वडा कायम गर्न १५ वटा वडा कायम गर्नकालागि नगरसभामा निर्णयार्थ पेश गरेका थिए र सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता केदार काफ्लेले बताएका छ्न ।
अन्य वडाको तुलनामा वडा नं. १४ भौगोलिकरुपमा ठूलो र विकट भएको, स्रोत साधनको असुविधा भएको लगायतका कारणहरुले छुट्टै वडा कायम गर्न माग गर्दै प्रभावित क्षेत्रका एकहजार ६ जनाको हस्ताक्षर तथा भेलाले निर्णयहरु गरेर वडामा र वडाले नगर कार्यपालिकामा बुझाएको नगर प्रवक्ता काफ्लेले बताए ।
१४ नं. वडाका २५ वटा टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवीहरुको भेलाले यही पुस १० गते वालिङ नगरपालिकाको साविकको १० नं. वडा, साविक थुमपोखरा गाविसको वडा नं. ९ कोखे टोल र साविकको कालिकाकोट गाविसको २ नं. वडाको हुग्दी टोललाई समावेश गरी थप वडा कायम गर्ने निर्णय स्थानीय वडाबासीले गरेका वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार यही पुस १७ गतेको वडाको बैठकले स्थानीयहरुबाट निर्णय भई आएको प्रस्तावलाई नगर कार्यपालिका बैठकमा पेश गरेकोमा यही पुस २३ गतेको कार्यपालिका बैठकले नगरसभामा पेश गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख दिलीपप्रताप खाँणले भने,
. “विभिन्न आठ वटा कारणहरुसहित वडा विभाजन गरी छुट्टै वडा बनाउन स्थानीयले माग गरेका थिए,यस विषयमा सम्बन्धित क्षेत्रका बहुमत नागरिकको धारणाका आधारमा नगरसभामा पेश भई सभाबाट पारित भएको हो”
नगरले पारित गरेको निर्णयलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने नगर प्रमुख खाँणले बताए । “अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो भएकाले पनि यस वडालाई अन्यको तुलनामा नगरबाट धेरै रकम विनियोजन गरिँदै आईएको छ” नगर प्रमुख खाँणको भनाई थियो । .