वालिङ-१४, मंसिर
वालिङ बचत तथा ऋण सहकारी संस्था वालिङको १९औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनको शनिवार समुद्घाटन गरिएको छ ।
]कोभिड १९ को संक्रमण जोखिम वढदै गएका कारण नेपाल सरकार र सहकारी विभागको साधारण सभा सन्चालन गर्न दिइएको निर्देशन वमोजिम शनिवार संस्थाको वालिङ स्थित कार्यालयमा सञ्चालक समिति र उपसमितिका सदस्यहरुका बीचमा साधारण सभाको समुद्घाटन संस्थाका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठले गरेका हुन ।
साधारण सभाको उद्घाटन गर्दै श्रेष्ठले कोरोनाको संक्रमणका कारण सृजित विद्यमान असहज परिस्थितिका बाबजुद संस्थाले आयोजना गरेको साधारण सभाको सफलताको कामना गरे । पछिल्लो समय सहकारीहरु बीच अस्वस्थ प्रतिष्पर्धा भईरहेको भन्दै सहकारी स्वच्छ हुनुपर्ने श्रेष्ठले जिकिर गरे । श्रेष्ठले शेयर सदस्यहरु एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फतनै गर्नुपर्नेमा जोड दिएका थिए । सहकारीहरु सँख्यात्तमकभन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका थिए ।
साधारण सभा संस्थाका सचिव खगेन्द्र प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष कर्णवहादुर श्रेष्ठ विरामी भएर उपचाररत रहेका कारण उपस्थित हुन नसकेपछि सचिवको अध्यक्षतामा कार्यक्रमलाई अौपचारिक सुरूवात गरिएको संस्थाले जनाएको छ ।
संस्थाका कोषाध्यक्ष लिलानारायण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संस्थाका सहसचिव गुणनिधि काफ्लेले गरेका थिए । साधरण सभा मंसिर २२ गते सम्म सन्चालन हुनेछ भने यसै संस्थाको छैटौं अधिवेशन पनि रहेका कारण साधारण सभाको प्रकृया पूरा गरेर संस्थामा आएका सुझाव र निर्देशन पश्यात बन्द सत्रको प्रकृया अन्त्य गरि अधिवेशनको प्रकृया सुरू गरिने संस्थाका सचिव खगेन्द्र अर्यालले जानकारी दिएका छन ।
२०५९ सालमा स्थापना भएको सहकारीको २ करोड ७१ लख ६८ हजार चुक्ता पुँजी रहेको छ । संस्थाले ११ करोड ८२ लाख ८६ हजार ७ सय ३४ रुपैँया कर्जा लगानी गरेको छ भने १४ करोड १३ लाख ८३ हजार ६ सय ८६ रुपैँया निक्षेप रहेको छ ।