विश्वकै ठुलो शालिग्राम शिला रहेको सेतीवेणीमा यहि मंशिर १० र ११ गते मेला लगाउन गाउँपालिकाले रोक लगाएको छ । मंशिर १० गते परेको हरिबोधनी एकादशी र ११ गते परेको तुलसीको विवाह गर्ने दिन सेतीवेणीमा विशेष मेला लाग्ने गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण झनै बढ्ने र मेला महोसत्वमा हुने भिडभाडवाट समुदायस्तरमा पुग्ने जोखिम बढि हुने भएकाले मेला लगाउन रोक लगाईएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले शालिग्राम क्षेत्र संरक्षण समितिलाई पत्र लेख्दै नियमित पुजाआजा बाहेक मानिसहरुको भिडभाड हुने गरी मेला महोत्सव नगर्न निर्देशन दिनुभएको हो । शालिग्राम शिला बाहेक पालिका भित्रका अन्य धार्मिक स्थलहरुमा पनि नियमित पुजाआजा बाहेक अन्य कुनै कार्यक्रम नगर्न उर्दि जारी गरिएको हो ।
पवित्र कालीगण्डकी नदिको किनारमा अवस्थित विश्वकै ठुलो शालिग्राम शिलामा एकादशी, माघ संक्रान्ति, वैशाखे संक्रान्ति लगायत साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । यहाँ मेला भर्नका लागि पर्वत जिल्लासँगै छिमेकी जिल्ला स्याङ्जा, बागलुङ, गुल्मी, पाल्पा, बुटबल तथा छिमेकी मुलुक भारतवाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।