अब दिनदिनै देशभर तापक्रम घट्ने तथा बिहान-बिहान तराई क्षेत्रमा हुस्सुसमेत लाग्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भनेको छ- ‘देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराई भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनतम तापक्रम घट्दै जाँदा तराई क्षेत्रमा बिहानीपख खासगरी घाम लाग्नुअघिको समय हुस्सुसमेत लाग्ने सम्भावना देखिएकाले चेतावनी जारी गरिएको हो।
‘घाम लाग्दै गएपछि भने त्यो हट्नेछ,’ मौसमविद् मानन्धरले नेपालखबरसँग भनिन्, ‘दिउँसो भने मौसम सामान्यतया सफा रहन्छ।’
यस्तै आगामी तीन दिन कतै वर्षा वा हिमपातको सम्भावना नरहेको उनले जानकारी दिइन्।