तिहारको समयमा बर्सेनि माग र मूल्य बढ्ने भाइमसलाको यस वर्ष भने माग र मूल्य दुवै घटेको छ । तिहारको बेला सधैँ महँगो हुने भाइमसलाको मूल्य १० देखि १५ प्रतिशतसम्म घटेको व्यवसायीले बताएका छन् ।
कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनको कारणले गर्दा स्टक पर्याप्त मात्रामा रहेकाले मूल्य घट्न गएको हो । पुरानै सामान पर्याप्त भएकाले लामो समयसम्म राख्दा बिग्रन सक्ने भन्दै मूल्य घटाएर बिक्री गर्न थालेको व्यवसायीले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यो वर्ष भाइमसलाको मूल्य १० देखि १५ प्रतिशत मूल्य घटेको जानकारी दिए । पुरानो सामान स्टकमा भएकाले व्यवसायीले मूल्य घटाएर बिक्री गर्न थालेको उनको भनाइ छ ।
तिहारमा अत्याधिक खपत हुने भाइमसलाको माग घटेसँगै मूल्यमा पनि कमी आएको व्यवसायीको भनाई छ ।
विगतमा तिहारको समयमा भाइमसलाको बिक्री सामान्य दिनमा भन्दा करीब ५० प्रतिशतसम्मले बढ्ने गरेको भए पनि यस वर्ष विक्री ३० प्रतिशतमात्र जति मात्र रहेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा समेत मसला बढी बिक्री हुने होटेल, रेष्टुराँ, मिठाई उद्योगजस्ता व्यवसाय लामो समयदेखि पूर्ण क्षमतामा बिक्री बढ्न नसकेको व्यवसायीको भनाइ छ ।
संघका अनुसार पेस्ताको खुद्रा मूल्य गत वर्षभन्दा प्रतिकिलो १ सय रुपैयाँ घटेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ । ओखर प्रतिकिलोमा ५० रुपैयाँ घटेर ६ सय रुपैयाँ कायम भएको छ भने सुकुमेलमा ३ सय रुपैयाँ घटेर पाँच हजार रुपैयाँ कायम छ । नरिवलमा प्रतिकेजीमा ५० रुपैयाँ घटेर ३ सय ८० रुपैयाँ रहेको छ भने बदाम प्रतिकेजी १ सय रुपैयाँ घटेर एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, काजुको मूल्य पनि प्रतिकिलो १ हजार ७५० बाट घटेर १ हजार ५५० रुपैयाँ कायम भएको छ । मखानाको खुद्रा मूल्य १ हजार सय रुपैयाँबाट घटेर प्रतिकिलो १ हजार कायम भएको छ । अञ्जीरको मूल्य पनि प्रतिकिलो २ सय रुपैयाँले घटेर २ हजारबाट १ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, अलैंचीमा प्रतिकेजी एक सय रुपैयाँ घटेर १ हजार १०० रुपैयाँ रहेको छ ।
त्यसैगरी खुर्पानी, दालचिनी, ल्वाङ, सुकुमेल, सुपारीलगायतको मूल्यसमेत घटेको छ । नेपालमा तिहारका लागि मात्रै व्यापारीहरूले ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार गर्ने बताउँछन् । भाइमसला छिमेकी मुलुक भारतलगायतका अन्य मुलुकबाट आयात हुने गर्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको २ महिनामा नेपालमा १ अर्ब ४६ करोड मूल्य बराबरको भाइमसलाको आयात भएको छ । गत आर्थिक वर्षमा मात्रै ४ अर्ब मूल्यको भाइमसलाको आयात भएको थियो ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।