वालिङ । वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले आफूहरु उत्पादकत्व बढाउने गरी दीर्घकालिन योजनामा लागि परेको बताएका छन । उनले भने, दीगो रुपमा उत्पादनको बृद्धि नगरी नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्तैन ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत नगर भित्रका कोभिड प्रभावित कृषकहरुका लागि बिउबिजन तथा कृषि औजार बितरण गर्दै नगर प्रमुख खाँणले नगरवासीलाई सक्षम र सवल बनाउन आफूहरुको ध्यान केन्द्रित रहेको स्पष्ट पारे ।
नागरिकलाई कृषि प्रति आकर्षित गरी उत्पादन बढाउने उद्देश्यले बिउबिजन बितरण गरिएको भन्दै नगर प्रमुख खाँणले अव व्यवशायीक रुपमा खेती गर्नु पर्ने र उत्पादन बढाउनु पर्ने धारणा राखे ।
प्रमुख खाँणले उत्पादन गरिएका बस्तुहरुलाई बजार सम्म पुर्याउने अभियानका साथ वालिङ प्रडक्ट होल्डिङ मल्टी कोअपरेटिभको स्थापना भइसकेको बताए । उनले स्मार्ट नागरिक भए पछि मात्रै वालिङ स्मार्ट बन्न सक्ने स्पष्ट पारे।
स्मार्ट वालिङ बनाउनको लागि २० बर्षे योजना रहेको भन्दै नगरप्रमुख खाँणले सबैको प्रयासले मात्रै यसमा सफलता मिल्ने भनाइ राखे । वालिङलाई खुला दिशामुक्त गराउन मात्रै सात बर्ष लागेको स्मरण गर्दै खाँणले भने, सबै नागरिक उत्पादन र उत्पादकत्वका क्षेत्रमा लागि परे तोकिएको समयमा नगरलाई स्मार्ट बनाउन सकिने छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले नागरिकको जीवनस्तर उकास्नका लागि नगरपालिकाले युएनडिपी नेपालसँग सहकार्य गरिरहेको भन्दै कृषकहरुलाई त्यसको फाईदा लिन आग्रह गरे । उनले भने, कृषकको सक्रियताले नै कार्यक्रमको प्रभावकारिता बढ्दछ ।
त्यस्तै युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकासँगको सहकार्य अत्यन्तै उपलव्धीमुलक रहेको बताए । उनले भने वालिङका जनप्रतिनीधीहरु दीगो बिकासमा केन्द्रित रहेकाले नै काम गर्न सहज भएको छ । कार्यक्रमको उद्देश्य नै उत्पादकत्व बढाउने रहेको जानकारी गराउदै अर्यालले कोभिड प्रभावित नागरिकहरुलाई अधिकतम फाईदा लिन आग्रह गरे ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कबिता गैह्रेले परियोजनाको उद्देश्य र कार्यक्रमका बारेमा जानकारी गराए । कार्यक्रममा वालिङ नगरपालिकाका १४ वटै वडाका ३० जना कृषकहरुलाई पहिलो चरणमा बिउबिजन तथा कृषि औजार हस्तान्तरण गरिएको कार्यक्रम प्रमख राधाकृष्ण डुम्रेले जानकारी दिए। उनले कार्यक्रम कोभिड १९ बाट प्रभावितहरुको सहयोगमा केन्द्रित रहेको बताए ।
कार्यक्रम अन्तरगत नगरपालिकाका बिभिन्न स्थानमा नर्सरी बनाउनुका साथै आवश्यक्ता अनुशार तालिम समेत सञ्चालन भईरहेको छ ।