वालिङ, १२ असोज ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकामा आइतवारदेखि औपचारिकरुपमा स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ भएको छ ।
वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङलाई नेपालकै उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट वालिङ एप्सको शुरुवात गरिएको हो ।
वडामा हुने सिफारिसका काम काजहरु डिजिटल सिस्टमबाट भुक्तानीसहित गर्ने नेपालकै पहिलो पालिका वालिङ बनेको हो ।
स्मार्ट पालिकाले निर्माण गरेको वालिङ नगरपालिका स्मार्ट मोबाईल एप तथा विद्युतीय सुशासन प्रणाली आज वालिङ नगरपालिकालाई हस्तान्तरण गरेसँगै कार्य शुभारम्भ भएको हो ।
डिजिटल सिष्टम शुभारम्भ कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले विज्ञान तथा प्रविधिको यूगमा डिजिटल सिष्टमको शुरुवातबाट सेवा आरम्भ गर्नु उदाहरणीय कार्य भएको बताएका छन् ।
जन्मदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण सेवाहरु वडा तथा नगरपालिका कार्यालयसम्म नगईकन घरबाटै स्मार्ट मोबाईलको प्रयोगबाट गर्न सकिने भएकाले पनि सेवा प्रवाह तथा सेवाग्राहीलाई सहजता हुनुकासाथै सुशासनका लागि सहयोगी हुने प्रमुख जिल्ला अधिकारी क्षेत्रीको धारणा थियो ।
“डिजिटल सिस्टमलाई कार्यान्वयनका लागि शुरुका चरणमा केही समस्याहरु आउन सक्छन्” प्रजिअ क्षेत्रीले भने, “समस्या आउँछन् भनेर अगाडि नबढ्ने होईन समस्यासँग जुध्दै अगाडि बढेमात्रै सफल बन्न सकिन्छ त्यसको शुरुवात वालिङले गरेको छ, जुन आधुनिकताको कोशेढुंगा पनि हो” ।
कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले स्मार्ट वालिङ डिजिटल सिस्टमको सुरुवातीसँगै नगरका सबै गतिविधिहरु हेर्न सकिने भएकाले पनि पारदर्शिताको उच्चतम प्रयोग भएको बताएका छन् ।“स्मार्ट सिटी वालिङ निर्माणका लागि २० वर्षको योजना बनाईएका छौं” नगर प्रमुख खाँणले भने, “स्मार्ट वालिङ डिजिटल सिस्टम स्मार्ट पालिका निर्माणका लागि तयार गरिएका १०६ वटा सूचकहरुमध्ये एउटा सूचक मात्रै हो यस्ता अरु थुप्रै काम गर्नुछ र ती काम पूरा हुन करीब २० वर्ष लाग्ने छ र जहिले सूचकहरु पूरा हुन्छन् त्यतिबेलामात्रै आधारभूत तहको स्मार्ट सिटी बन्ने छ” ।
विद्युतीय हस्ताक्षर ९डिजिटल सिग्नेचर० को प्रयोगले छिटो छरितो, पारदर्शी सेवा प्रदान गर्न सकिनुका साथै कागजी प्रक्रियाको समेत अन्त्य हुने नगर प्रमुख खाँणको भनाई थियो ।
“जनप्रतिनिधि तथा कर्मचारीहरु सबैलाई ब्यक्तिगतरुपमा ‘क्रिप्टो टोकन’ उपलब्ध गराएका छौं” नगर प्रमुख खाँणले भने, “विद्युतीय हस्ताक्षर लागू भएपछि कोही पनि सेवाग्राही कार्यालय समयबाहेक पनि सेवा लिन सक्नेछन्” ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले वालिङका नागरिकले दिनुभएको जिम्मेवारी पूरा गर्नका लागि निरन्तर लागि परेको बताइन् । आधुनिकतासँगै भित्रिएका नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै वालिङलाई स्मार्ट सिटी बनाउने मार्गमा रहेको बताउदै अब नागरिकले घरबाट सम्पूर्ण सेवा लिन सक्ने बताएकी थिइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वालिङलाई स्मार्ट नगरकोरुपमा विकास गर्नका लागि ल्याईएका सूचकहरुमध्येको स्मार्ट वालिङ डिजिटल सिस्टमलाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि जोड दिने बताए । नगरबासीलाई यसकाबारेमा आवश्यक तालीम तथा प्रशिक्षणको ब्यवस्था गरी प्रविधिमैत्री बनाउनका लागि आवश्यक पहल गर्ने समेत जानकारी दिए ।
कार्यक्रममा नेकपा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रे, नेपाली काँग्रेस वालिङ नगर सचिव भूपराज बगाले, जनता समाजवादी पार्टीका नगर अध्यक्ष टीकाराम रेग्मी, वालिङ नगर प्रवक्ता केदार काफ्ले, रेडियन्ट ईन्फोटेक नेपालका प्रबन्ध निर्देशक दीपक भण्डारी, सेलएप नेपाल प्रालिका कार्यकारी निर्देशक मनोज भट्टराई, डिजिटल पेमेन्ट सिष्टम खल्तीका कार्यकारी निर्देशक अमित अग्रवाल, सेल एप प्रालिका ब्राण्ड एम्बेष्डर सुरक्षा पन्त, सेल एप प्रालिका जनसम्पर्क ब्यवस्थापक राजानन्द माण्डब्य, वालिङ नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश अर्याल लगायतले वालिङ नगरलाई स्मार्ट पालिकाकोरुपमा विकसित गर्न र अन्ततः पेपरलेस पद्धतिको विकास गर्नमा सहयोगी भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा रेडियन्ट ईन्फोटेक नेपालले वालिङ नगरपालिकालाई विद्युतीय हस्ताक्षर उपलब्ध गराएको थियो भने सेलएपले वालिङ नगरपालिकालाई डिजिटल प्रणाली हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा अनलाईन पेमेन्ट गेटवयका लागि डिजिटल पेमेन्ट सिस्टम खल्तीसँग नगरपालिका र खल्तीबीच सम्झौता आदान प्रदान भएको थियो ।
नगर उपप्रमुख कल्पना तिवारीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गरेका थिए ।