कमल रेग्मी
भीरकोट, ७ स्याङ्जा
गण्डकी प्रदेशको एक महत्वपूर्ण पर्यटकीय सम्भावना रहेको भीरकोट नगरपालिका वाड नं ५ स्थित स्वरेक मैदान लकडाउनका वेला अधिकांशको गन्तव्य वनेपनि उनीहरुले फालेको फोहर व्यवस्थापन हुन नसक्दा भीरकोट नगरपालिकाका युवाहरु फोहर व्यवस्थापनमा जुटेका छन् ।
“युवा एकता भविस्यको प्रतिरक्षा” भन्ने मुल नारा बनाइ सामाजिक कार्यमा निरन्तर क्रियाशिल भीरकोट युवा आवाज भिरकोट नगरपालिका क्षेत्र भित्रको सामाजिक र विकास निर्माणको पक्षमा काम गर्दै आइरहेको संस्थाले लकडाउन खुले पश्चात भीरकोटको पहिचानको रुपमा रहेको स्वरेक मैदानको सरसफाई कार्यमा जुटेको भीरकोट युवा आवाजका सचिव सरोज अधिकारीले जानकारी दिए । युवाहरुले नेतृत्व गरेको उक्त कार्यमा स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।
प्याराग्लाईडिङमा गण्डकी प्रदेशमै पोखराको विकल्पको रुपमा रहेको अव्वल मानिएको स्वरेक मैदानको प्राकृतिक सौंदर्यता विग्रन नदिन यहाँको फोहरमैला व्यवस्थापन अत्यान्त महत्वपूर्ण भएकाले युवाहरुले पर्यटकीय स्थल सरसफाई कार्यक्रम एउटा सन्देश सहितको कार्यक्रम रहेको वताउदै यस ठाँउको गरिमा उच्च राख्न सानो फोहरको टुक्रा देख्ने वित्तिकै व्यवस्थापन गर्न स्थानीयलाई समेत आग्रह गरेका थिए ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका वेला पनि युवाहरुले सामाजिक दुरी कायम राख्दै नेपाल सरकार र स्थानीय सरकारले तोकेको मापदण्डलाई ख्यालमा राख्दै सरसफाई कार्यक्रम आयोजना गरेको युवा आवाजका संस्थापक अध्यक्ष कृष्ण अर्यालले जानकारी दिए ।
कार्यक्रममा अर्यालले हाम्रो गौरवका रुपमा रहेका क्षेत्रको विकासका लागि नगरपालिका संग सहकार्य गरेर विकास निर्माणमा अगाडी वढन आफूहरु तयार रहेको समेत जानकारी गराएका थिए । भीरकोट नगरपालिकाले सार्वजानिक स्थलमा फोहर गर्नेलाई दण्ड जरिवानाको व्यवस्था सहित ठाँउ ठाँउमा डस्टविनको उचित प्रवन्ध गर्न समेत भीरकोट युवा आवाजले माग गरेको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी रहेका भीरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले भीरकोटको मात्र नभई समग्र गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको मैदानको प्राकृतिक मनोरम छटाहरुको व्यवस्थापनमा स्थानीय सरकार मात्र नभई स्थानीयवासीको महत्वपूर्ण भुमिका रहने वताएका थिए । फोहर व्यवस्थापन महत्वपूर्ण पक्ष हो यसका अलावा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खुसि पार्न स्थानीय उत्पादन र मानिसहरुको व्यवहारमा समेत परिवर्तन आउन जरुरी रहेको वताएका थिए ।
स्वरेक मैदानको वृहत्तर विकासमा वडा कार्यालय मात्र नभई समग्र नगरपालिका लागि परेको स्मरण गराउदै यस क्षेत्रलाई आगामी केही वर्ष भित्रै गण्डकी प्रदेशको महत्वपूर्ण गन्तव्यको रुपमा निर्माण गरिने यसका लागि यसको गुरुयोजना सहितको मोडेल निर्माण गरिने समेत वडा अध्यक्ष अधिकारीले प्रष्ट पारेका छन् ।
झण्डै ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको औपचारिक सन्चालन भिरकोट युवा आवाजका सचिब सरोज अधिकारीले गरेका थिए । भने अभियानको संयोजन क्लबका अध्यक्ष सुनिल अर्यालले गरेका थिए ।