गल्याङ, २२ साउन ।
स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमण स्थानीयमा पुष्टी भएपछि सम्भावित खतरावाट बच्नकालागि नगरपालिकाले सक्रियता वढाएको छ । संक्रमणको जोखिम र यसवाट बच्न स्थानीयवासीलाई सचेत गराउँदै नगरपालिकाको नेतृत्वमा बजार अनुगमन गरिएको छ ।
नगरपालिकाको मुख्य बजार रहेको गल्याङ बजारमा गरिएको अनुगमनको क्रममा नगरपालिकाले तोकेको मापदण्ड अनुसार मात्र बजार सञ्चालन गर्न, सामाजिक दुरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्नका लागि सचेत गराउदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा प्रहरी, गल्याङ उद्योग वाणिज्य संघ तथा गल्याङ चेम्बर अफ कमर्सका पदाधीकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा तोकिएको समयमा मात्र अत्यावश्यक पसल तथा व्यवसाय मात्रै सञ्चालन गर्न, कपडा तथा भाँडा पसलहरु सञ्चालन नगर्न अनुरोध गरिएको थियो । दुध, तरकारी र फलफुल पसल विहान सात बजे देखि नौ बजेसम्म मात्रै, खाद्यान्न पसलहरु मध्यान्ह १२ बजे देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरिएको हो ।
यस्तै, अन्य पसल व्यवसाय सञ्चालन नगरी कोरोना भाइरस विरुद्वको लडाईमा सहकार्य गर्न नगरपालिकाले अनुरोध गरेको छ । यसैवीच, अनुगमनका क्रममा मास्क नलगाई हिड्नेहरुलाई कारवाही स्वरुप मास्क वितरण गरिएको छ । पहिलो चरणमा कारवाही स्वरुप मास्क वितरण मात्रै गरिएको हो ।
अनुगमन सकिएपछि प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले कारवाही स्वरुप मास्क वितरण गरिएको र पसलहरुलाई पनि सचेत मात्रै गराइएको बताए । स्थानीयवासीहरुको सुरक्षाको लागि आफुहरु नै सचेत हुनुपर्ने भन्दै पाण्डेले अरुले भनेर भन्दा पनि आफ्नो स्वास्थ्य सुरक्षा आफै गर्नुपर्ने जानकारी दिए ।
यस्तै, बैंकहरुलाई पनि अत्यावश्यक काम बाहेकका अन्य कामहरु नगर्न अनुरोध गरिएको छ । सहकारीहरु पूर्ण रुपमा बन्द गर्न र अत्यावश्यक काम बाहेक बैंक पनि बन्द गर्न आग्रह गरिएको पाण्डेले बताए ।