??????
वालिङ, २७ असार ।
वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले अब आर्थिक विकासतर्फ उन्मुख हुनुपर्ने बेला आएको बताएका छन ।
गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र आँधीखोला बहुप्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन भएको तीन महिने बेमौसमी तरकारी उत्पादन तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख खाँणले आर्थिक विकास विना अन्य विकास सम्भव नहुने भएकाले आर्थिक विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
“तालिममा सिकेका सीपलाई ब्यवहारमा उतारेर आत्मनिर्भर बन्नतर्फ लाग्नुहोस्” नगर प्रमुख खाँणले भने, “ब्यवसाय सञ्चालनका क्रममा आवश्यक परेको खण्डमा नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउने र उत्पादित बस्तुको बजारीकरणका लागि पहल गर्ने छ ।” नागरिकहरु सचेत नभएसम्म भ्रष्टाचारमा कमि नहुने भएकाले अब नागरिक सचेत र चनाखो हुनु आवश्यक रहेको नगर प्रमुख खाँणको भनाई थियो ।
कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले सिकेका सीपलाई ब्यवहारमा उतारेर उदाहरण प्रस्तुत गर्नका लागि सुझाव दिएका थिए । गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार मञ्जु राना र सहभागीकातर्फबाट टीकाकुमारी पंगेनीले समेत आफ्नो धारणा राखेका थिए ।
प्रमाणपत्र वितरण कार्यक्रम संस्थाका अध्यक्ष कविता गैह्रेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव ईन्दिरा अधिकारीले र स्वागत उपाध्यक्ष पूर्णकला वोस्तीले गरेकी थिइन् । तालिममा सहभागी २० जना किसानलाई प्रमाणपत्र वितरण गरिएको थियो ।