साधना न्यौपाने
चापाकोट, २६ असार ।
पछिल्लो समय गाउँघरमा किसानहरुले गाइबस्तु पाल्न छोडेसँगै खेतबारी जोत्नको लागि गोरु पनि पाइन छोडेको छ । कृषकहरुले खेतबारी जोत्नको लागि गाउँमा गोरु नपाईएको गुनासो गरे पछि स्याङ्जाको चापाकोट नगरपालिकाले खेतबारी जोत्ने ट्याक्टर उपलब्ध गराउन थालेको छ ।
किसानहरुको यस्तै समस्यालाई मध्यनजर गरेर नगरपालिकाले ७० प्रतिशत अनुदानमा ३५ जना किसानाहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।
कृषिलाई व्यवसायिक र यान्त्रिकरण गरेर छिटो छरितो रुपमा काम सम्पन्न गराउन र उत्पादनमा वृद्धि गरी उत्पादन लागत कम गरि नाफामूलक तथा व्यवसायीक कृषि उत्पादनमा सहयोग गर्ने उदेश्य सहित नगरपालिकाले कृषिलाई प्रविधियुक्त बनाउने अभियानमा लागेको नगर प्रमुख गिरीको भनाई थियो ।
स्याङजा को दक्षीणी भेगमा रहेको चापाकोट नगरपालीकाले पछिल्लो समय नगरबासी कृषक लाई आत्मनिर्भर बनाउन र उत्पादन लागत कम गरी कृषकको जिवनस्तर उकास्न कृषि क्षेत्रमा विभिन्न अनुदान तथा विकासका कार्यक्रमहरु ल्याइरहेको छ ।
नगरपालिकाले चापाकोट नगरपालिकाका कृषकहरुलाई ८० प्रतिशत अनुदानमा कागतीका १५ हजार विरुवा वितरण गरेको छ । नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा हाते ट्याक्टर प्राप्त गर्ने कृषकले ७० प्रतिशत अनुदान कटाएर २१ हजार ५ सय नगरपालिकालाई वुझाएका थिए ।