नगरपालिकाले आफ्ना नगरस्तरीय योजना छनौट गरी बजेटको धेरै हिस्सा खर्च गर्ने लक्ष्य राखेको छ । नगर सभामा प्रस्तुत बजेटमा कोभिड १९ को प्रभावलाई न्यूनिकरण लगायत शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा मुख्य जोड दिइएको छ ।
नगरसभामा नगर प्रमुख शिव कुमार गिरिले आर्थिक वर्ष ०७७/७८ का लागि निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सातौ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखिएको नगर प्रमुख गिरीले जानकारी दिए ।
प्रस्तुत बजेटमा नगरवासीहरूको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ती गर्दै जाने, नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध नगर बनाउन बजेट केन्द्रित भएको छ ।
सो अवसरमा नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गिरिले सिङ्गो विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै सिंगो मुलुक तथा नगर पनि विपत्तिसँग जुधिरहेको बताएका थिए । संक्रमण स्थानीयमा देखिए संगै नगरपालिका भित्र लकडाउनलाई केही दिन थप कडाई गर्न वाध्यता भएकाले नगर सभा केही दिन ढिला हुन गएको वताउदै नगर प्रमुख गिरीले नगरको समृद्धि र बिकासमा लाग्न सबै जनप्रतिनिधीहरुलाई आग्रह समेत गरेका छन् ।