गल्याङ, १३ असार ।
स्याङ्जाको गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न सातौं नगरसभाले आगामी आर्थिक वर्षका लागि ७० करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत पारित गरेको हो । यसमा सशर्त अनुदान तर्फ ३२ करोड ६१ लाख रुपैयाँ समेटिएको छ ।
चालु खर्च ४१ करोड ४४ लाख ११ हजार र पुँजीगत तर्फ २८ करोड ७४ लाख ८२ हजार खर्च हुने अनुमान गरिएको छ । नगरसभामा नगर उपप्रमुख देविसरा थापाले साधारण खर्च तर्फ १४ करोड नौ लाख ६० हजार र विकास तर्फ ५६ करोड नौ लाख ३३ हजार हुने बताइन् ।
उक्त खर्च बेहोर्नका लागि नगरपालिकाको आन्तरिक आम्दानी दुई करोड, नगद मौज्दात तीन करोड ५५ हजार दुई सय १० रुपैयाँ जलविद्युत रोयल्टी तीन करोड १९ लाख ७१ हजार ४० तथा नेपाल सरकार एवम् प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदानहरु रहेका छन् ।
बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदै छ करोड चार लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कृषिका लागि व्याज अनुदानमा ६० लाख, दुध विक्री अनुदानमा ५० लाख, गाइभैंसी बाख्रा प्रबर्दनमा ३५ लाख बंगुर, कुखुरा एवम् कृषि विउ यन्त्र उपकरण वितरणका लागि ७९ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।यस्तै, राम्दीलाई पर्यटनको रुपमा स्थापना गर्न संघ सरकारको सहकार्यमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, उद्योग वाणिज्य, आपूर्ति व्यवस्थापन पर्यटन सहकारी प्रबर्दनका लागि २५ लाख तथा सिंचाई संरचना निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सामाजिक विकासका लागि ६ करोड ६० लाख र कोभिड १९ अन्य विपद व्यवस्थापनका लागि १ करोड रुपैया, खानेपानि ढल निकास निर्माणका लागि ३ करोड स्वास्थ्य क्षेत्रको विकासको लागि ९५ लाख रुपैया तथा गल्याङ नगर अस्पतालको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, पूर्वाधार विकासका लागि १० करोड ८४ लाख तथा नगरका गौरवका सडक निर्माणका लागि तीन करोड छुट्याइएको छ । नयाँ आर्थिक वर्षको बजेटमा प्रत्येक वडाहरुलाई २५ लाखका दरले बजेट विनियोजन गरिएको छ । यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनीक सुशासन क्षेत्रका लागि १४ करोड नौ लाख ६० हजार बजेट छुट्याइएको छ ।
नगरसभालाई सम्बोधन गर्दै सभाध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सिमित बजेटमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए। उनले भने –‘हामी कोभिड १९ विरुद्व समेत लड्नुपर्ने अवस्था छ, त्यसैले पहिले स्वास्थ्य र त्यसपछि विकासलाई प्राथमिकता दिनुपर्नेछ ।’यसअघि नगरसभामा निती तथा कार्यक्रममा पेश गर्दै नगरप्रमुख अधिकारीले विगत दुई वर्षमा लिएका नीति कार्यक्रमले नगरपालिकाबाट दिगो प्रगति हासिल गर्न सकेको बताए ।
नीति तथा कार्यक्रममा सहुलियतपूर्ण कृषि ऋण बाली तथा पशु विमा व्यवस्थाका लागि केन्द्र सरकारबाट ७५ प्रतिशत र नगरपालिकाबाट २५ प्रतिशत अनुदानको व्यवस्थागर्ने उल्लेख गरिएको छ । यस्तै, बैदेशिक रोजगारीबाट फिर्ता भएका नागरिकहरुका लागि दुई लाख देखि ५० लाख सम्म बैंक कर्जा व्याजमा अनुदानको व्यवस्था पनि गरिएको छ ।
नगरसभाबाट सर्बसम्मत पारित भएको नीति तथा कार्यक्रममा पशुपालन र एक रोपनी भन्दा बढि तरकारी खेती गर्ने किसानलाई निशुल्क विमा गर्ने उल्लेख छ । यसैगरी, एक वडा एक खेलकुद मैदान निर्माण गर्न पहल गर्ने पनि निती कार्यक्रममा उल्लेख गरिएको छ ।