तोलाकान्त बगाले
वालिङ, १९ जेठ ।
विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका सबै घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।
नगरभित्रका १४ वटे वडामा खानेपानीको अभाव भएका गाउँ वस्तीका सबै घरमा धारा जोड्ने अभियान अन्तर्गत वालिङ १ धरमपानीका २६ घरमा पानी पुगेको हो ।
वालिङ नगरपालिका र स्थानीय उपभोक्ताको श्रमदानसहित ‘बौरादी धरमपानी लिफ्टिङ खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै घर घरमा धारा जडान गरिएको वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए ।
वालिङ नगरपालिकाको रु. २७ लाख ५२ हजार ९ सय ३६ र स्थानीय उपभोक्ताबाट ६ लाख ५ हजार ६ सय ४६ गरी कूल रु. ३३ लाख ५८ हजार ५ सय ८२ को लागतमा उक्त आयोजना सम्पन्न भएको वडा अध्यक्ष काफ्लेले जानकारी दिए ।
“वडाभित्र शुद्ध खानेपानीको सहज आपूर्तिका लागि नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारको लागतमा आधा दर्जन बढी खानेपानीका योजनाहरु सञ्चालनमा रहेका छन्” वडा अध्यक्ष काफ्लेले भने, “साना, मझौला तथा बृहत योजनाहरु मध्ये केही योजनाहरु सम्पन्न भईसकेका छन् भने अन्य निर्माणको चरणमा भएको हुँदा निर्माण सकिएसँगै वडामा पिठ्यूमा बोकेर पानी खानुपर्ने अवस्था अन्त्य भएर जाने छ ।”
बस्तीभन्दा तल रहेको बौरादीको मूलबाट पानी विद्यूतीय सहायतामा तानेर गाउँभन्दा माथि पु¥याएर त्यहीँमार्फत वितरण गरिएको ईञ्जिनियर ध्रुव रेग्मीले बताए ।
“बस्तीभन्दा झण्डै ५ सय मिटर तल रहेको मूलबाट पानी तानेर बस्तीमाथि रहेको ट्याङ्कीमा संकलन गरिएको छ” ईञ्जिनियर रेग्मीले भने, “त्यहाँ संकलन भएको पानी स्थानीयले आवश्यकता अनुसार खोलेर घर घरमा वितरणको ब्यवस्था मिलाईएको छ ।”
एक गाग्री पानीका लागि बस्तीभन्दा तल रहेको बौरादी मूलमा आधा घण्टा समय खर्चेर जानुपर्ने बाध्यता अव यहाँको समस्या समाधान भएको वताउदै सबै गाँउवासीमा खुसियाली छाएको उपभोक्ता समितिका सचिव मीरा काफ्लेले बताइन् ।
“एक गाग्री पानीका लागि कम्तिामा पनि आधा घण्टा समय छुट्टयाउनुपथ्र्यो कुवा, ईनारमा गएर पालो पर्खनुपथ्र्यो” सचिव काफ्लेका अनुसार, “लिफ्टिङ खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीका लागि घण्टौं हिडेर आउजाउ गर्ने समयको वचत भएको छ ।” खानेपानी योजना सञ्चालन तथा मर्मतका लागि प्रत्येक घरधुरीबाट मासिकरुपमा आर्थिक संकलन गर्ने गरिएको समेत उनले वताइन् ।
पानीका लागि वस्तीभन्दा तल रहेको कुवा, ईनारमा जानुपर्ने वाध्यताको अन्त्य भई प्रत्येक घर घरमा धारा आउँदा स्थानीय हर्षित भएका छन् । कुवा तथा ईनारमा पानी लिन जाने स्थानीयलाई घर–घरमै धारा जडान भएपछि हर्षित हुनुका साथै समयको समेत वचत भएको उपभोक्ताहरु वताउछन् ।