स्याङजा, १९ जेठ ।
आँधीखोलामा अबैध रुपमा करेन्ट प्रवाह गरी माछा मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चार जना युवकलाई नियन्त्रणमा लिएर कारवाहि गरेको छ । लकडाउनको मौका छोपेर आँधीखोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पुतलीबजार नगरपालिका ११ वगालथोक स्थित आँधीखोलामा माछा मारेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइ कारवाहि गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिमलराज कणेलले जानकारी दिए । कणेलका अनुसार पुतली बजार १० बस्ने बर्ष ३९ का बसन्त राना, सोही वडाका बर्ष ३७ का सन्दिप गुरुङ्, बर्ष २६ का सनोज थापा, र बर्ष ३८ का चौ बहादुर गुरुङ् रहेका छन् ।
पक्राउ परेका ४ जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनही ५ हजार जरिवाना गरेको छ । उनीहरुबाट प्रहरीले एक्साईड व्याट्री १ थान, मोटर, तार, माछा छोप्ने कुडुलो र २३ थान रसी नियन्त्रणमा लिएको प्रहरी प्रमुख कणेलले बताए ।
करेन्ट लगाएर जलचर मार्न नपाईने कानुनी व्यवस्थालाई हामीले प्रयोग गरिएको हो प्रहरी प्रमुख कणेलले भने,“अबैध तवरले माछा मार्ने जो कोहीलाई पनि अब उप्रान्त कानुनी कारवाहिको भागिदार बन्ने छ ।” बन्दाबन्दीको मौका छोपेर अबैध धन्दा गर्नेहरु कानुनी कठाघरमा जाने छन् कणेलले भने । लकडाउनको अवस्थामा आँधीखोलामा माछा मार्ने क्रम बढ्दो रहेका बेला प्रहरीले चलाएको यो कदमले अब माछा मार्ने क्रम रोकिन सक्ने विश्वास स्थानीयले लिएका छन् ।