वालिङ, २७ वैशाख ।
कोरोना संक्रमणवाट बच्न नियमित सावुन पानीले हात धुनुपर्ने भएपछि नेपाल तरुण दल स्याङ्जाले जिल्लाका विभिन्न ठाँउहरुमा हात धुने आधुनिक धारा स्थापना गरेको छ । कोरोना महामारी बिरूद्धको अभियानमा सहभागी हुँदै नेपाल तरूण दल केन्द्रीय कार्यालयको परिपत्र र तरूण दल स्याङ्जाको भिडियो कन्फ्रेन्स बैठकको निर्णयानुसार जिल्ला सदरमुकाम स्याङ्जा र वालिङको मुख्य चोकमा धारा जडान गरिएको हो ।
खुट्टाद्वारा सन्चालन गर्न सकिने धारा इन्जिनियर अनुप श्रेष्ठले डिजाइन गरी निर्माण गरिएको हो । भने धारा स्याङ्जा युनिभर्सल मेटल ईन्डस्ट्रिजले तयार पारेको हो। फलामद्वारा निर्माण गरिएको स्टेण्डको अगाडीको दुइवटा खुट्टामा एकातर्फ थिच्दा सावुन र अर्को तर्फ थिच्दा पानी उपलव्ध हुन्छ । उक्त अत्याधुनिक धारा शनिवार नेपाल तरुण दलले वालिङमा स्थापना गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार राना, भीरकोट नगरपालिकाका मेयर छाँयाराम खनाल,वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण, प्रदेश सांसद भागवत प्रकाश मल्ल लगायतका नेता तथा कार्यकर्ताको सहभागितामा स्थापना गरिएको थियो ।
कार्यक्रममा काँग्रेस स्याङजाका कार्यवाहक सभापति कुमार रानाले यसको सहि तरिकाले प्रयोग गरी महामारीको खतरावाट बच्न सबैलाई आग्रह गरेका थिए । उनले अत्याधुनिक तरिकाले निर्माण गरेको टैंकी सहितको स्टेण्डको संरक्षणमा ध्यान दिई यसको निरन्तरताको लागि अपिल समेत गरेका थिए ।
मेसिनको उपयोगिता र तरूण दल स्याङ्जाको कोरोना बिरूद्दको अभियानको बारेमा बोल्दै तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के।सीले यस्तो मेसिन जिल्लाका सबै स्यथानीय तहमा राख्ने योजना तरूण दल स्याङ्जाको रहेको बताएका थिए ।
तरूण दल वालिङका अध्यक्ष आशिषप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष रबिन केसी र संचालन तरूण दल क्षेत्रीय सचिव दीपक रेग्मीले गरेका थिए ।