काठमाडौं, ५ मंसिर । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेको विषयले अहिले सामाजिक सञ्जालमा ठूलो चर्चाको विषय बनेको छ । सत्तारुढ दलका नेताहरु नै सामाजिक सञ्जालमा नेतृत्वप्रति आफ्ना विचार व्यक्त गरिरहेका छन् ।
मन्त्रीमण्डल पुनर्गठनको विषयमा नेकपाका नेताद्वय प्रभु साह र विष्णु रिजालको सवाल जवाफ, पुर्व कृषि मन्त्री चक्रपाणी खनाल र नवनियुक्त कृषि मन्त्री घनश्याम भुसालको अंकमालको तस्वीर अनि पूर्व श्रम मन्त्री सिंहदरबारबाट निस्केर ट्याक्सी चढेको तस्बीरसम्मले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।
लामो समयको गृहकार्य पश्चात बुधवार बेलुकी मन्त्री मण्डलमा भएको हेरफेरले मुलुकमा एक किसिमको तरङ्ग ल्याएको छ । सामाजिक सञ्जालमा पनि यो विषयले धेरै चर्चा परिचर्चा पाएको छ ।
नेकपाका केन्द्रीय सदस्य प्रभु साहले आफ्नो फेसबुक वालमा सामान्य कम्युनिष्ट मान्यतालाई पनि ख्याल नगरी अयोग्यलाई मन्त्री बनाएकोमा आफु नेतृत्वप्रति लज्तित भएको भन्दै पोष्ट गरेका छन् ।
यसैको जवाफमा नेकपाका अर्का नेता विष्णु रिजालले प्रभु शाहको स्ट्याटसले आफुलाई लज्जित बनाएको भनी आफ्नो फेसबुकमा पोष्ट गरेका छन । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेकपा नेता भिम रावल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायतले आफ्नो ट्वीटरमार्फत नवनियुक्त मन्त्रीहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । भिम रावलले भने मन्त्री हेरफेरमाथि केही असन्तुष्टी जनाउँदै नेतृत्वलाई प्रश्न समेत उठाएका छन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको ट्वीटमा आशा र भरोसा गरिएका राम्रा छबि बनाएका केही नेतालाई पनि पालैपालो मन्त्री बनाएर यी पनि निकम्मा हुन भनेर प्रमाणित गर्ने काम भएको भनी नेतृत्वप्रति व्यंग्य गरिएको छ ।
श्रममन्त्रीबाट हटाइएका गोकर्ण विष्टले आफ्नो कार्यकालमा राम्रो काम गरिएपनि आफु मन्त्रीमण्डलमा नपरेकोमा घुमाउरो पाराले असन्तुष्टी जनाउँदै ट्वीट गरेका छन् । गोकर्ण विष्टलाई हटाइएकोमा भने धेरैले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।
गोकर्ण विष्टलाई हटाएर विना मगरलाई यथावत राखेकोमा भने सामाजिक सञ्जालमा आलोचना तथा व्यङग्य गर्नेहरुको पनि ओइरो नै लागेको छ । मन्त्रीमण्डल हेरफेरले सामाजिक सञ्जालमा आलोचना गर्नेहरुको संख्या बढी देखिएको छ ।