स्याङ्जा २९ असोज
सधै क्रिम र अनुहारमा खेलेका ब्युटिसियनहरु वुधवार राम्दी स्थित बृद्धाश्रममा भेटिए । उनीहरु बृद्धाश्रममा रहेका बृद्ध आमा बुवाको कपाल काट्ने, नङ काट्ने र उनीहरुको सरसफाई हात खुट्टा धुने जस्ता कार्यमा व्यस्त देखिए ।
व्युटिपार्लर एशोसियसन स्याङ्जा र सक्षम सिविटेन क्लवको संयुक्त आयोजनामा वुधवार एक कार्यक्रमको आयोजना गरि उनीहरुले स्याङ्जाको रामनदीधाम राम्दीमा रहेको शिवपार्वती बृद्धाश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई न्यानो कपडा, फलफूल सहित सरसफाई समेत गरेर फर्किएका छन् ।
नेपालीहरुको महत्वपूर्ण चाडपर्वको अवसर पारेर जाडो शुरु हुँदै गर्दा न्यानो कपडाले बृद्धबृद्धाहरुलाई सहज होस् भन्ने उद्देश्यले कपडा वितरण गरिएको व्युटिपार्लर एशोसियसन स्याङ्जाकी अध्यक्ष पुष्पा अर्याल रानाभाटले बताइन् । विभिन्न वाध्यता र परिस्थितीवस आश्रम पुगेका आमा बुवाहरुलाई पारिवारिक स्नेह प्रदान गर्ने मुख्य उद्देश्य रहेको समेत रानाभाटले बताइन् ।
एसोसियनको अगुवाईमा आश्रममा बस्दै आएका बृृद्धबृद्धाहरुलाई एक–एक जोर न्यानो कपडा, फलफूल तथा दक्षिणा प्रदान गरिएको थियो । भने युवा युवतीहरुलाई श्रृगार गर्ने व्युटिसियनहरुले आश्रममा बस्ने बृद्धबृद्धाहरुको स्याहार समेत गरेकाछन् । उनीहरुले बृद्धबृद्धाहरुको कपाल काट्ने तथा कोर्ने, नङ काट्ने, हातखुट्टाको सरसफाई गरिदिने काम गरेका थिए ।
श्रीमानको स्मृतिमा ब्युटिसियन गुरुङले गराईन भोजन ।
यसैबीच वालिङ नगरपालिका वडा नम्बर १ रामबाच्छाकी पमिला गुरुङले आफ्ना स्वर्गीय पती टुकबहादुर गुरुङको स्मृतिमा आश्रममा बस्ने बृद्धबृद्धालाई एकदिनको भोजन गराएकी छन् । व्युटिपार्लर एशोसियसन स्याङ्जाकी सचिब समेत रहेकी पमिलाले छोरी शीतल गुरुङको उपस्थीतिमा भोजन गराएकी हुन ।
आश्रममा सञ्चालन भईरहेको “एक दिन एक दाता कार्यक्रम” अन्तर्गत टुक बहादुर गुरुङ् ११ औं स्मृतिमा भोजनको ब्यवस्था गरिएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिए ।