भिरकोट २८ असोज ।
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज अभियानमा समाहित भिरकोट जेसीजले स्थापनाकै वर्षमा धेरै रचनात्मक कार्य गरेर समाजमा उदाहारणीय संस्थाको रुपमा स्थापित भएको छ ।
भिरकोट नगरपालिका वाड नं ८ निवासी अनु परियारको दुबै मृगौलामा खरावी आएपछि उपचारको शिलशिलामा गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत उनको आर्थिक अवस्था कमजोर भएर उपचारमा सहयोग गर्न अपिल गरेपछि भिरकोट जेसीजले अनु बचाऔं अभियान सन्चालन गरेर अर्थिक संकलन गरेको छ ।
संकलित रकम रु ५२ हजार ७५ रुपैया आज एक कार्यक्रमका बिच अनुको परिवारलाई हस्तान्तरण गरेको छ । भिरकोट जेसीजका अध्यक्ष गुरुप्रसाद गुरुङ उमेशले उक्त रकम अनु परियारको परिवारलाई हस्तान्तरण गरेका हुन ।
रकम हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले पीडामा रहेका परिवारलाई मल्हम स्वरुप जेसीजले उक्त रकम प्रदान गरेको जानकारी दिए । अनुको आर्थिक अभावका कारण उपचारमा समस्या भएको खवर प्राप्त गर्नासाथ आफूहरुले आर्थिक संकलन अभियान सुरु गरेको वताउदै सहयोगी मनहरुको सहयोग आउने क्रम जारी छ अनुको उपचारका लागि आउने सहयोग पुन प्रदान गरिने जानकारी दिए ।
रकम हस्तान्तरण पश्चात भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष तथा भिरकोट जेसीजको मातृ शाखा वालिङ जेसीजका निवर्तमान अध्यक्ष यामप्रसाद अधिकारीले जेसीज यूवाहरुलाई नेतृत्व सिकाउने विद्यालय मात्र नभएर समाजमा विपतमा परेका जो कोहीको सहयात्री बन्ने संस्थाको रुपमा रहेको जानकारी दिए ।
अधिकारीले जेसीज मानवताको सेवा, विश्व वन्धुत्वको भावना र विधिको शासनमा विश्वास गर्ने संस्था भएकाले समाजमा छुट्टै पहिचान स्थापित गर्ने संस्थाको रुपमा रहेको समेत उल्लेख गरेका थिए ।
अनु परियारको उपचारका लागि सहयोग गर्न चाहनुहुने सहयोगी मनहरुले मुक्तिनाथ विकास बैकमा रहेको खातामा रकम जम्मा गरी सहयोग गर्न सकिने पनि भिरकोट जेसीजले जानकारी दिएको छ । साथै आर्थिक सहयोग दिने सहयोगी सबैलाई धन्यवाद समेत सोही रकम हस्तान्तरण कार्यक्रममा दिइएको थियो ।