शम्भु अर्याल
शम्भु अर्याल
‘क्षितिज यात्रा’ पढिरहेको छु । निकै ओजपूर्ण मुक्तकले नेपाली समाजको वर्तमान परिस्थितिलाई चित्रण गरेको अनुभूत गर्न सकिन्छ । भूइँमान्छेका विषयलाई गहिरो गरी टामेर लेखिएका मुक्तकले समानताका भावलाई प्रकट गरेको पाइन्छ । समानताका विषयलाई गम्भीररूपमा उठान गरिएका मुक्तकले सीमान्तकृत समुदायका मनोभावलाई समेत कलात्मक ढंगले चित्रण गरेको देखिन्छ ।
मुक्तककार विश्वनाथ सञ्जेलले लेखेको मुक्तक संग्रह लघु आकारको पहिलो र दोस्रो हरफ अनुप्रास र तेस्रो हरफ स्वतन्त्र र चौथो पंक्ति अन्त्यमा अनुप्रास मिलाएर मुक्तकको विधि र विधान अनुरूप सञ्जेल ‘क्षितिज यात्रा’ गरिरहेका छन् ।
अचेल टुक्रे श्लोक मात्र होइन स–साना टुक्रे कवितालाई समेत मुक्तक स्वीकारी सकेको अवस्था छ । यो समयानुकूल सृजित भएका वाद, प्रतिवादका कुरा भए । यिनै शक्तिहरूबाट संश्लेषण निस्कन्छ ।‘क्षितिज यात्रा’ मुक्तकको नियम, मर्म र परिधिभित्र रहेर विचार र कथनको सटिकता, बन्धुको गोलीजस्तो तेज भइकन पनि प्रस्तुतिमा कोमलताका कारण आमपाठकले पनि सरल र सहजै विषयवस्तु ग्रहण गर्न सक्ने खालको छ । मुक्तकहरू चतुष्पदीय शैलीमा वर्तमान समाजको यथार्थ तस्बिर बन्न सकेका छन् । मुक्तकको नियम र परिधिभन्दा बाहिर विचलित नभई सटिक प्रस्तुति दिन सकेकाले मुक्तक ‘मुक्तक’ नै बन्न सकेका छन् ।
हामीले ग्रिक राजनैतिक चिन्तनहरू पढ्यौँ । प्लेटोको न्याय सिद्धान्त पनि पढ्यौँ । अरस्तु, सिसेरो, मेकियावेली, बोदाँ टम्स हब्स, जन लक, रुसो, जन्मी बेन्थम, हेगेल लगायतका दार्शनिकहरू पढ्यौँ । कार्ल माक्र्स पढ्यौँ । उनले प्रतिपादन गरेको सिद्धान्तको प्रयोग भइरहेको छ । लेनिनको प्रयोग हामीले नजिकैबाट बुझ्ने र हेर्ने मौका पायाँै । हामी द्वन्द्वात्मक भौतिकवाद पढ्यौँ ।
वर्गसंघर्ष समाजको अन्तिम कटुसत्य हामी स्वीकार्यौं । अतिरिक्त मूल्यको सिद्धान्तले हामीलाई झन् समाज बुझ्न सक्ने बनायो । मजदुर को हो मालिक को हुन् रु शोषण के हो रु मानव हितका लागि गरिएका विचार र परिकल्पनाको ज्ञान भएकाहरू पनि व्यवहारमा ल्याउन नसक्दा मान्छे–मान्छेबीच सुख, शान्ति, सद्भाव र मैत्री हुन नसकेको दुखेसो मुक्तकमा सञ्जेलले पोखेका छन् ।
समग्र संग्रह, शासक र शासित वर्ग, पुँजीपति र सर्वहारावर्ग, मालिक र ज्यालादारी वर्ग, साथी–साथी बीचको बहुरूपी स्वभाव यिनै–यिनै द्वन्द्व र हुँडलोलाई मुक्तककारले खरोरूपले उठान गरेका छन् । मजदुरहरू आफ्नो जिविकोपार्जन गर्न आफूहरूले नै मालिक सृजित गरेको र तिनै मालिकलाई सत्तासिन गराएको, मजदुरहरू आफ्नो जीविकोपार्जनको लागि आफूसँग उत्पादनको कुनै साधन नभएकाले आफ्नो श्रम बेच्न बाध्य भएको, पसिनाको सम्मान हुन नसकेको र उनीहरूको चालचलन, सुखदुःख, जीवनमरण यिनै सत्तासीन मालिकको पिँजडामा परेको विषयलाई मुक्तककार सञ्जेलले मुक्तकमार्फत शंखघोष गरेका छन् ।
जसलाई मालिक भनेर सत्तामा पु¥यायो उनीहरूले नै स्वयं राज्यको उत्पादनको साधन र श्रोतमा लम्पट बनेको तथ्यलाई सटिकरूपमा उठाएका छन् । साथै, उनीहरूकै पसिनामाथि ढलिमली गर्दै उत्पादनका स्रोतसाधन स्वयं आफूले उपभोग गर्दै मालिक बनिरहेको र ज्याला, मजुरी गरिरहेका वास्तवमै दुःख भोगिरहेका मजदुर र किसानहरू दासै बन्नुपरेको वर्तमान समयको नेपाल र नेपालीको नियतिमाथि उनले प्रश्नचिन्ह खडा गरेका छन् ।
पुस्तकमा धेरैभन्दा धेरै मुक्तकमा वर्तमान समयको मान्छेको स्वभाव, प्रवृत्ति, सत्तामा नपुगुन्जेल मलिन हुने, सिँढी चढी दलिन छुने र भयंकर बनी मझेरीमा रहेका आम मान्छेलाई खेदो खन्ने शासकीय पद्धतिको खरो विरोधमा सञ्जेल देखिएका छन् । देखाइमा मान्छे–मान्छे जस्तो तर चरित्रमा खलनायक प्रवृत्ति र संसारको उच्च चेतना भएर पनि प्रकृतिभन्दा माथि उठ्दै गर्दा मान्छेले मान्छेलाई नै हेपिरहेको सिरपफस प्रवृति, गौण मानवीय गुण क्षितिज यात्रामा धेरैभन्दा धेरै मुक्तकहरू छन् । यसले मान्छेमा कतैकतै सृजित हुने निराशा, कुण्ठा, चोट र वैराग्य छन् । फेरि कतै यस्ता खलनायक प्रवृत्तिलाई परास्त गर्न सृजित हुने मनोबल छन् । आत्मबल छन् ।
माया, प्रेम, वियोग र त्यसबाट सृजित निराशा र वैराग्य छन् । आफन्तहरूबाटै बढी हेपिनुपरेको, तिरस्कृत हुनुपरेको । सम्बन्ध नाताले भन्दा बढी व्यवहारले हुने रहेछ । बरू पराय नै किन नहोस् मित्रवत् र सद्भावले नजिक र प्रगाढ हुने निष्कर्ष छ सञ्जेलको । आफन्तले आफन्तकै खेदो खन्दा मान्छेको अवनति भइरहेको उनको ठम्याइ छ ।
मान्छे आफ्नो काम र कर्तव्य कम र अरुको चियो चर्चो बढी गर्ने र अनावश्यक झमेलामा फसिरहेको छ । उन्नति, प्रगति, मिहिनेत पथप्रदर्शकभन्दा अर्काको टिकाटिप्पणी र निधिखोजी गर्दा स्वयं आर्थिक, भौतिक र नैतिकरूपमा अवसान भइरहेको र मान्छे सृजनशील कम र निन्दोचर्चो बढी भइरहेको सामाजिक चरित्रलाई समेत मुक्तकले गतिलो झापड हानेको छ ।
हत्या, बलात्कार, गैरजिम्मेवार चरित्रहीन प्रवृत्तिमाथि समेत सञ्जेल मुक्तकमार्फत औँला ठड्याएका छन् । मन त सबैको मायालु, सफा र सकारात्मक हुन्छ । तर उहीँ मान्छे निकृष्ट सोच, नियोजित नियत, अरूलाई तल पार्न उद्धत कपटी विचारले न्याय नै धरापमा परेको विश्लेषण मुक्तककारको छ । भित्र उस्तै भए पनि मान्छेले फरक खोल ओढेको मान्छेको चरित्र र प्रवृत्ति बोलेको छ पुस्तक ।
किन गर्छ मान्छे बोल फरक–फरक
भित्र उस्तै, बाहिरी खोल फरक–फरक
यति धेरै बेमतलवी देख्दा यो संसार
लाग्छ– रचिदै छ माहोल फरक–फरक
अन्तिममा मुक्तक गरिवगुरुवाप्रति नै समर्पण गरिएको छ । नुनको सोझो सधैँ गर्नुपर्छ भन्दै गाँस, बाँस र कपास भोक मेट्न एक टुक्रा रोटी र ओतको लागि सानै भए पनि झुप्रो र झुत्रै भए पनि एकसरो कपडा मान्छेका आधारभूत आवश्यकतालाई इंगित गर्दै सम्मानका साथ बाँच्न पाउनुपर्ने सुखी र समृद्ध समाजको इच्छा राख्दछन् मुक्तककार । सम्पत्ति र सुखको आकर्षणले पथभ्रष्ट बन्दै गएका सत्तासीन व्यक्तिलाई भोगविलास र व्यक्तिगत स्वामित्व समाप्त पार्दै सामूहिक स्वामित्वको अपिल मुक्तकमार्फत गरेका छन्, सञ्जेलले ।
उनको लेखनीमा रहेको कोमलता, हार्दिकता, कला, विचार, लय जस्ता लेखकीय क्षमता निकै आशातीत रूपमा आएका छन् । मुक्तककारले थप मिहिनेत गर्दै अघि बढेमा नेपाली साहित्यमा एउटा खाडल पुर्ने प्रतिभाको रूपमा सञ्जेल उदाउने आश गर्न सकिन्छ ।
वालिङ–६, मिर्दि, स्याङ्जा