वालिङ २१ भदौ ।
बैदेशिक रोजगारीका क्रममा स्पेनमा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्पेनमा कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो ।
पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका थिए। सो रकमलाई वालिङका समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गरेका हुन । एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जाली तथा नेपालीहरुले पुजनको सम्झनामा संकलित रकम हस्तान्तरण गरिएको समाजसेवी नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।
पुजनका परिवार अहिले काठमाडौमा बस्दै आइरहेका छन् । श्रीमान र छोरा समेत गुमाएकी पुजनकी आमा एक छोरीका साथमा काठमाडौमा बस्दै आएकी छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर १ का अध्यक्ष केदार काफ्लेले विदेशमा रहेका नेपालीहरुले आफ्नो खर्च कटाएर पीडित परिवारलाई सहयोग गर्नु अन्त्यन्तै स्रहानिय काम भएको वताएका थिए ।