तोलाकान्त बगाले
वालिङ, १८ भदौ ।
लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु रोगको नियन्त्रणका लागि वालिङ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । पोखरावाट सुरुमा देखिएको यो रोग स्याङ्जामा पनि भित्रिएपछि यस सम्वन्धी सचेतना गराउन नगरपालिकाले आफ्नो कार्यक्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका प्र.अ.हरु विच अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले स्याङ्जामा पनि डेङ्गुका बिरामी भेटिएको अवस्थामा वालिङमा पनि सम्भावित खतरावाट जोगिन समयमै सचेत हुन नगरवासीलाई आग्रह गरेका छन् ।
उनले विद्यालय तथा विद्यार्थीमार्फत सचेतना सम्बन्धी सूचनाहरु घर घरमा छिटो पुग्ने भएकाले पनि शिक्षकहरुले प्रत्येक कक्षा कोठामा रोकथाम र नियन्त्रणका उपायहरुका वारेमा विद्यार्थीहरुलाई जानकारी दिनुहुन पनि आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मणिप्रसाद पंगेनीले डेङ्गु रोगका लक्षण, रोग लाग्ने तरिका र बच्ने उपायहरुकाबारेमा सहजीकरण गरेका थिए ।
यसैबीच “हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण” भन्ने नाराका साथ आगामी आईतबार वालिङमा मनाउन लागिएको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ लाई सभ्य र भब्यताका साथ मनाउने तयारीका लागि एक कार्यक्रम गरिएको छ ।
वालिङ नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले शिक्षा दिवस तथा साक्षरता दिवसलाई सभ्य र भब्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुलाई निर्देशन दिए ।