वालिङ १७, भदौ ।
गतिशिल रमाईलो तीज मेला वालिङमा सम्पन्न भएको छ । वालिङमा रहेको गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको रमाईलो मेलामा विभिन्न शैलीका नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो ।
मेलाको शुभारम्भ गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले तिजको ऐतिहासिक पक्षलाई कायम राख्दै नेपालीहरुको साँस्कृतिक पर्वको रुपमा मनाउनुपर्ने वताइन् । तिज सवै हिन्दुधर्मालम्वीहरुको साझा पर्व भएको भन्दै उपप्रमुख तिवारीले यसको मौलिकता कायम राख्न सवैलाई आग्रह गरेकी छन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष कविता तिवारीले महिलाहरुको अग्रसरतामा खोलिएको सहकारीले महिला लक्षित विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराइन । उनले महिलाहरुको अगुवाईमा नै गार्मेन्ट उद्योग स्थापना गरिएको बताइन । भने संस्थाले छिट्टै खाद्यान्न उद्योग स्थापना गर्ने लक्ष्य राखेको समेत जानकारी दिइन् ।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसकी पूर्व प्रमुख रिना रानाले तिजलाई आधुनिक र भड्किलो शैलीबाट जोगाउनु पर्ने धारणा राखिन् ।
संस्थाकी अध्यक्ष कविता गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्णकला वोस्ती र सञ्चालन सचिव इन्दिरा गैह्रे अधिकारीले गरेकी थिइन्।