देव वोगटी
स्याङ्जा १२, साउन
विभिन्न संस्कृति
तथा पर्यटनका थुप्रै सम्भावनाहरु बोकेका जिल्लाहरु मध्ये एक हो स्याङ्जा जिल्ला,
ग्रामिण पर्यटनको विकास संगै प्याराग्लाइडिङको
पनि उत्तिकै सम्भावना रहेको जिल्ला हो । नेपालमै ग्रामिण पर्यटनमा होम–स्टे
सन्चालन गरेर मुलुकभर विशिष्ठ पहिचान वोकेको जिल्लामा कास्कीको सारङ्कोट पछि
स्याङ्जाको स्वरेक मैदान साहसिक प्याराग्लाईडिङको
महत्वपूर्ण गन्तव्य वन्न सक्ने देखिएको छ ।
संस्कृति,
पर्यावरण तथा प्राकृतिक सम्पदाका हिसाबले
अग्रस्थानमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि स्याङ्जा आकर्षणको केन्द्र
विन्दु बन्दै गईरहेको छ । प्रशस्त सांस्कृतिक सम्पदा वाईसे चौविसे राजाका दरवारहरु,
मठ, मन्दिर, प्राकृतिक
वातावरणका हिसाबले सुन्दर यस जिल्लाका नदी, प्राकृतिक गुफा तथा भू–बनावटले जिल्लाको पूर्वदेखि
पश्चिमसम्म जुनसुकै स्थानले पर्यटकिय सम्भावना वोकेका छन् । ग्रामिण पर्यटनको
सुरुवात गर्ने सिरुवारी पछि अहिले जिल्लाको वालिङ नगरपालिका र भिरकोट नगरपालिका
प्याराग्लाइडिङको लागि पोखरा पछिको महत्वपूर्ण गन्तव्य वन्न थालेको छ ।
पछिल्लो समय
नेपाल घुम्न आउने साहसिक पर्यटकको प्रमुख रोजाइ प्याराग्लाइडिङ बन्दै गइरहेको छ ।
नेपालमै प्याराग्लाइडिङमा चर्चित पोखराको आकासमा सयौं मानिस उडिरहेका हुन्छन् ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थन निर्माण संगै प्याराग्लाईडिङको पनि विकल्प
खोज्नुपर्ने हुन्छ त्यसका लागि पनि पर्यटकिय नगरीको नजिकको स्थल भएकाले मैदान
महत्वपूर्ण स्पोर्टको रुपमा रहन सक्ने पर्यटन व्यवसायीहरु वताउछन् ।
प्याराग्लाईडिङको
विकास र स्थायीत्वको लागि जिल्लाका स्थानीय तह र पर्यटन सम्वन्धी काम गर्ने
संस्थाहरु लागि परिरहेका छन् । दुईवटा विश्व कप समेत सम्पन्न गरिसकेको जिल्लामा
यतिवेला प्याराग्लाईडिङ कम्पनी खोल्न आउने र आकासमा उड्न आउनेको संख्या दिनानुदिन
वढिरहेको भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले वताए ।
प्याराग्लाइडिङबाट
स्याङ्जाका चर्चित पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको मनोरम दृश्यावलोकन एकै पटकमा
गर्न सकिने भएकाले र वास्तविक नेपालको भू–वनोटको अवलोकन गर्न सकिने भएकाले
स्वरेकवाट उडने सबै पर्यटकले वेग्लै मज्जा लिने गरेको रामेछापवाट आएर स्वरेकमा
प्याराग्लाइडिङ कम्पनी खोलेका पाइलट सानोवावु सुनुवारले वताए ।
पोखरा पछिको उडान
देखि अवतरण सम्मका लागि अत्यान्त राम्रो र सिद्धार्थ राजमार्ग नजिकै भएकाले यस
ठाँउ उपयुक्त मानेर आफूले फ्लाइङ हिमालयन प्याराग्लाईडिङ्ग कम्पनी खोलेर जिल्लामै
पहिलो व्यवसायिक सेवा सञ्चालन गरेको समेत उनले बताए । उनका अनुसार नेपालमै पहिलो
व्यवसायीक उडानको अनुमती पाएको पोखरामा सबैखाले उडानका लागि ठाँउ सानो भएकाले
दुर्घटना दिनप्रति दिन वढ्दो छ । त्यसको लागि पनि पोखरावाट नजिकको स्पोर्ट स्वरेक
मैदान भएकाले प्याराग्लाईडिङका लागि निकै उपयुक्त रहेको उनले वताए
पर्यटकको बाक्लो
उपस्थिति जिल्लामा हुँदै गएकाले यहाँ होटल व्यवसायको खाँचो वढ्दै गइरहेको छ ।
उपयुक्त सडकमार्ग र आधारभूत पूर्वाधार निर्माण हुन सकेको खण्डमा दैनिक रुपमा बाह्य
पर्यटकलाई समेत भित्राउन सकिने सम्भावना रहेको छ । प्याराग्लाइडिङ, दृश्यावलोकन, सुटिङ्गका लागि उपयुक्त ठाउँको रुपमा स्वरेक मैदान रहेपनि
मुख्यतः सडक मार्ग र अन्य आधारभूत पूर्वाधारको अभावका कारण उचित विकास भने हुन
सकेको छैन । पछिल्लो समय जिल्लाका पर्यटकिय सम्भावना रहेका स्थानहरुको जिल्ला
पर्यटन विकास समिती र स्थानीय तहहरुले बृहत पर्यटकिय गुरुयोजना तयार गरेर
पूर्वाधार विकासमा लागि परेका छन् ।
प्याराग्लाईडिङ
भिरकोट नगरपालिकाको मैदानमा उडेर वालिङको पिङक सिटी, गह्रौकालिका, आँधीखोलाको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । उता वालिङ नगरपालिकाले आँधीखोलाको
किनारमा प्याराग्लाईडिङ र अल्ट्रालाईटलाई मध्येनजर गर्दै मझौला खालको एयरपोर्ट
निर्माणगर्ने योजना बनाएको वालिङ नगरपालिकाले जनाएको छ ।
नेपालकै पर्यटकिय
राजधानी पोखराको आडमा रहेको स्याङ्जा आफैमा पर्यटन विकासको निमित्त उपयुक्त जिल्ला
हो । उपयुक्त पर्यटकीय स्थलहरुमा उचित पूर्वाधारहरुको विकास गरेको खण्डमा आन्तरिक पर्यटकसँगै
बाह्य पर्यटकहरुलाई भित्राउन सकिन्छ । भौगोलिक अवस्थिति, प्राकृतिक एवं सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले
महत्वपूर्ण यहाँका पर्यटकीय क्षेत्रहरुको उचित विकास गर्न सकेको खण्डमा जिल्लाको
आम्दानीमा समेत थप टेवा पुग्ने देखिन्छ ।