स्याङ्जा, २४ माघ । स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं ६ निबुवाबोट स्थित सेतिदोभान पंचमुल भित्री सडक खण्डमा आज बेलुका करिव ७:२० बजे बस दुर्घटना हुँदा ६ जना घाईते भएको छन ।
पोखराबाट स्याङजा सिरुबारी भ्रमण आई फर्कने क्रममा ना ४ ख ७०३४ नम्बरको बस सडकमै पल्टिन जाँदा बसमा सवार चालक सहित ३७ जना मध्ये ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
सडक दुर्घटनामा परी घाईते हुनेमा पोखरा महानगरपालिका वडा नं १७ विरौटा बस्ने ४५ वर्षीय सिता देवि आचार्य, ३९ वर्षीय समिता अधिकारी, ४८ वर्षीय शान्त कुमारी सुवेदी, ४५ वर्षीय सिता आचार्य, ५० वर्षीय चिनमाया लामिछाने र २५ वर्षीय गोमा पौडेल रहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अधिकारीका अनुसार बस दुर्घटनामा परी घाईते सबैलाई उपचारको लागि पोखरा पठाईएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अन्य यात्रुहरुलाई अर्को गाडी व्यवस्था गरी पठाएको बताएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।