वालिङ, ९ कार्तिक ।
गत असोज ८ गते वालिङ १४ तमादीमा आएको पहिरोका कारण मृतक र विस्तापित परिवारलाई स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितीको आयोजनामा संकलित रकम आज पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
रोजगारीको शिलशिलामा विदेशमा बस्ने नेपालीहरुको छाता संगठनको रुपमा रहेको समाजका वैदेशिक शाखा दक्षिण कोरिया, दोहा कतार, स्पेनका संरक्षक शालिकराम डुम्रे, अमेरिका र साउदी अरवका समितीको पहलमा संकलन गरिएको नगद रु दुई लाख ३० हजार समाजद्वारा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीवाट हस्तान्तरण गरिएको हो ।
सहयोग स्वरुप संकलित रकमबाट मनिषा÷भोजराज नेपालीलाई रु. एक लाख १० हजार, तमादी पहिरोमा घर पुरिएर विस्थापित भएका चार परिवारलाई प्रति परिवार रु. ३० हजारका दरले रु. एक लाख २० हजार रकम उपलब्ध गराईएको समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।
सहयोग हस्तान्तरण गर्दै वालिङ नगरपालिका उप प्रमुख कल्पना तिवारीले रोजगारीको शिलशिलामा विभिन्न देशमा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनीले विपतका वेला आफ्नो मातृभूमि प्रति देखाउनु भएको सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् ।
पहिरोवाट उद्दार गरिएकी मनिसा नेपालीको भविश्यका लागि नगरपालिकाले एसओएस संस्था संग आग्रह गरेर उनको पालन पोषण र शिक्षा उक्त संस्थाले गरिदिने व्यवस्था गरिएको जानकारी दिइन् । भने विस्थापित परिवारको पुर्नस्थापनको विषयमा पनि नगरपालिकाले पहल थालनी गरेको जानकारी दिइन् ।
कार्यक्रममा नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रेले विदेशमा रहेका नेपालीले आफ्नो छाक काटेर गरेको सहयोग रकमको सदुपयोग गर्नुपर्ने वताए । पहिरोका कारण पीडित परिवारको राहत र उद्दारमा आफ्नो सिंगो पार्टी लागेको स्मरण गराउदै पीडित परिवारहरुको व्यवस्थापनमा लागि परिरहने वताएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रम समाजका प्रवक्ता मुक्ति सुवेदीले सन्चालन गरेका थिए भने स्वागत हरी लुइटेलले गरेका थिए । कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।