तोलाकान्त बगाले
वालिङ, २१ जेठ ।
वालिङ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईन क्षमताभन्दा धेरै जना विदेशबाट आएको खण्डमा वडा–वडामा ब्यवस्थापन गर्ने निर्णय गरेको छ । वुधवार नगरपालिकाको कार्यपालिका बैठकले नगरभित्रका विदेशबाट आएका नागरिकलाई नगरपालिकाले विभिन्न विद्यालय तथा सामुदायिक भवनहरुमा निर्माण गरेको क्वारेन्टाईनको क्षमताभन्दा धेरै नागरिक आएको खण्डमा वडा–वडामा रहेका सामुदायिक भवन तथा विद्यालयमा पनि राख्न सकिने निर्णय गरेको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिए ।
“क्वारेन्टाईनको क्षमताभन्दा बढी ब्यक्तिहरु बाहिरबाट आउँदा ब्यवस्थापन गर्न स्वास्थ्य संस्था र सुरक्षा निकायको पहुँच भएको हुनुपर्ने छ” नगर प्रमुख खाँणले भने, “वडा कार्यालयहरुले उपयुक्त स्थानको छनौट गरी ब्यवस्थापन गर्ने र सम्भव भएसम्म आफ्नो घर परिवारबाट विस्तारा तथा खानाको ब्यवस्था मिलाउने र आर्थिक अवस्था कमजोर भई ब्यवस्था गर्न नसकेमा उक्त ब्यक्तिहरुलाई वडा तथा नगरपालिकाबाट ब्यवस्थापन गरिने छ ।”
कोरोना नियन्त्रणमा ३७ लाख खर्च
वालिङ नगरपालिकाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार÷राहत वितरण र क्वारेन्टाईन सञ्चालनमा हालसम्म ३९ लाख ४३ हजार ८ सय ९० रुपैयाँ आम्दानी र ३७ लाख १ हजार १५ रुपैयाँ हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ ।
त्यस्तैगरी नगरपालिकाले सञ्चालनमा ल्याएको प्रकोप ब्यवस्थापन कोषबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार÷राहत वितरण र क्वारेन्टिन सञ्चालनको कार्य गर्ने गरी कोभिड १९ राहत कोष खातामा विभिन्न ब्यक्ति एवं संघ संस्थाबाट प्राप्त भएको रकमले नपुग भएको हुँदा प्रकोप ब्यवस्थापन कोष ग–७.२ स्थानीय तह प्रकोप ब्यवस्थापन खातामा रहेको रकमबाट कोरोना संक्रमण, रोकथाम, नियन्त्रण, उपचार÷राहत वितरण र क्वारेन्टिन सञ्चालनका लागि २० लाख ब्यवस्थापन गर्ने निर्णय बुधबार सम्पन्न कार्यपालिका बैठकले निर्णय गरेको छ ।
यसैबीच बुधबार जनप्रतिनिधि एवं कर्मचारीहरुलाई ‘जुम मिटिङ’ सञ्चालनका लागि आवश्यक तालीम दिईएको छ । नगरपालिकाका सूचना शाखाका कर्मचारीद्वारा कोभिड १९ लाई लक्षित गरी ‘जुम मिटिङ’ सम्बन्धी तालीम प्रदान गरिएको हो ।