स्याङ्जा, ३० वैशाख ।
सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन देशभर गरेको लकडाउन आज ५० औं दिन पुगेको छ । पछिल्लो चरण वैशाख २५ गतेवाट विकास निर्माण र अत्यावश्यक सेवाका पसल, बैंक तथा वित्तिय संस्था सन्चालन, खाद्यान्न तथा निर्माण सामाग्री ढुवानीलाई खुला गरेपछि तोकिएको समयमा बजारमा विस्तारै भिडभाड वढदै जान थालेको छ । भिडभाड वढदै जान थालेपछि जिल्लाका मुख्य बजार इलाकामा प्रशासनले प्रहरीको सक्रियता वढाएको छ ।
जिल्लाका मुख्य बजार पुतलीबजार, वालिङ, गल्याङ र बयरघारीमा दिउसो १२ बजेवाट३ बजेसम्म सरकारले निर्देशन गरे बमोजिमका नियम पालन गरेर बैंक तथा वित्तिय संस्था सन्चालनमा आएका छन् । उक्त समयमा बजारमा भिडभाड हुन सक्ने भन्दै प्रशासनले निगरानी वढाएको इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्माले वताए ।
उनका अनुसार अत्यावश्यक विकास निर्माणका लागि निर्माण सामाग्रि ढुवानी, खाद्यान्न ढुवानी, बैंकहरुलाई तिस प्रतिशत कर्मचारी राखेर आँशिक खुला गरिएको भएपनि भिडभाड हुने ठाँउहरुमा निगरानीमा राखेर सन्चालन गरिरहेको जानकारी दिए ।
उता पछिल्लो समय सरकारले निर्देशन गरेअनुरुपका कार्य सन्चालन गर्न दिंदा बजारमा सामान्य भिडभाड जस्तो देखिएपनि उक्त समयमा प्रहरीहरुले बजारका मुख्य भिडभाड हुने ठाँउहरुमा भिड नियन्त्रण गरिरहेको र तोकिएको समय सिमा भन्दा वढी कार्यालय सन्चालनमा समेत कडाइका साथ रोक लगाइएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।
सरकारले आउँदो जेठ ५ गते सम्म लकडाउन रहने जनाएपनि देशमा कोरोना संक्रमित को संख्या दिनहुँ बढिरहँदा लकडाउन लम्बिन सक्ने संभावना रहेको छ ।
मंगलवार मात्रै नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । यसैगरि नेपालमा कोरोनाको उपचार पछि ३३ जना निको भएर घर फर्किसकेका छन् ।