वालिङ, २९ चैत । विश्वका अधिकांश राष्ट्र यतिवेला कोरोना कोभिड १९ भाइरसको संक्रमण विरुद्धको लडाइमा रहेका छन् । नेपालले पनि लक डाउन गरेको १७ दिन भईसकेको छ । मानिसहरु अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाएका छैनन् । उद्योग कल कारखाना बन्द प्राय छन् । विश्वभर महामारी संक्रमणको दर दिनानुदिन उच्च गतिमा बढिरहेको अवस्थामा यो लक डाउन अनिश्चित बन्दै गइरहेको छ ।
लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेका परिवारलाई समस्या पर्न थालेको छ भने अति विपन्न परिवार पनि यो समस्या संग जुधिरहेका छन् । यो अवस्थामा देशका तिनै तहका सरकार संक्रमणको रोकथाम तथा राहत र उद्दारमा खटिईरहेका छन् ।
स्याङ्जामा पनि ११ वटै स्थानीय तहले राहत तथा संक्रमण नियन्त्रणमा जुटिरहेका छन् । भाइरस संक्रमणको जोखिम सुरुवाती चरण सुरक्षित महशुश गरिएपनि अवका दिन थप चुनौतिपूर्ण रहेको विश्लेषण गरिएको छ । विदेशवाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेर उनीहरुको स्वाव परिक्षण समेत गरिसकेपछि उनीहरुलाई परिवारमा घुलमिल हुन अनुमति दिन थालिएको छ ।
हालसम्म जिल्लामा विदेशवाट आएकाहरुको १ सय ६६ जनाको स्वाव परिक्षणका लागि पठाएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङले जानकारी दिए । संक्रमणको जोखिम नियन्त्रणका लागि जिल्लामा उच्च सतर्कता अपनाइएको र विपत व्यवस्थापन समितीलाई थप क्रियाशिल बनाउनका लागि भिडियो कन्फेरेन्स मिटिङहरु सन्चालन गरिरहेको समेत जानकारी दिए ।
जिल्ला भित्र रहेका सबै अस्पतालहरुलाई सुरक्षाको सामाग्रि पिपिई उपलव्ध गराइसकिएको बताउदै प्रजिअ कुरुम्वाङले नियमित लकडाउनको निगरानी, अत्यावश्यक खाद्य सामाग्रि ढुवानी, कृषि उपजको विक्रि वितरण जस्ता अत्यावश्यक सेवामा जिल्लाका सबै युनिटवाट निगरानी गरिरहेको जनाएका छन् ।
उता जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधिले समस्यामा परेका परिवारलाई पहिलो चरणका लागि राहत सामाग्रि वितरण गरिसकेको जनाएका छन् । भने आगामी दिनमा हुनसक्ने सम्भावित खतरालाई मध्येनजर गर्दै राहत संकलनका कार्यलाई समेत जोड दिइरहेका छन् । स्थानीय सरकारले स्थापना गरेको विपत व्यवस्थापन कोषमा स्थानीय संघ संस्था र व्यक्तिहरुद्वारा राहत प्रदान गरिरहेका छन ।
आँधीखोला गाउँपालिकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने ६२७ जनालाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको छ। गाउँपालिकाका ६ वटै राहत वितरण गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए ।
यसैविच जिल्लाको मध्ये भागमा रहेको वालिङ नगरपालिकाले झण्डै २७ लाख राहत संकलन गरेको छ । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा शनिबार सम्ममा नगद र खाद्यान्न गरी कूल २६ लाख ८३ हजार २ सय ४ राहत संकलन भएको नवरपालिकाले जनाएको छ । राहत कोषमा १९ लाख ९५ हजार २ सय ४ नगद र ६ लाख ८८ हजार बराबरको खाद्यान्न र साबुन रहेको छ ।
पतंजलि आयुर्वेद केन्द्र नेपालले वालिङ नगरपालिकालाई झण्डै साढे पाँच लाख बराबरको खाद्यान्न तथा साबुन उपलब्ध गराएको छ ।
वालिङ नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेसँगै अहिले गरपालिकाको राहत कोषमा सहयोग आउने क्रमले तीब्रता पाएको वालिङ नगर प्रमुख दिलिप प्रताख खाँणले बताए । नगरपालिकाले स्थापना गरेको राहत कोषमा नगरवासी र स्थानीय संघ संस्थाको त्साहजनक सहयोग प्राप्त भइरहेको उनले जानकारी दिए । वालिङ नगरभित्रका अति विपन्न समुदायलाई वितरण गर्नका लागि पतंजलि आयुर्वेद केन्द्र नेपालले खाद्यान्न तथा हात धुनका लागि साबुन उपलव्ध गराएको समेत जानकारी दिए ।
पतञ्जलीले तीन लाख २४ हजार बराबरको साबुन, एकलाख ६८ हजार बराबरको चामल तथा ढुवानी गरी कूल पाँच लाख ४० हजार बराबरको सहयोग प्रदान गरेको छ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको निर्देशन अनुसार पतंजलि आयुर्वेद केन्द्र नेपालले वालिङ नगरपालिकालाई साबुन तथा खाद्यान्न सहयोग उपलब्ध गराईएको आयुर्वेद केन्द्र नेपालका निर्देशक डा. पवमान सुबेदीले जानकारी दिए ।
“कोरोना विरुद्धको लडाईमा सबै एकजुट भएर लड्नुपर्ने अवस्था छ” निर्देशक सुबेदीले भने, “यो जटिल अवस्थामा जे जति सकिन्छ त्यो सहयोग गर्नुपर्छ भन्ने लागेर आचार्यजीको निर्देशन बमोजिम हामीले वालिङमा उपलब्ध गराएका हौं ।” आगामी दिनमा पनि आईपर्ने जटिल परिस्थितिहरुसँग नगरपालिकासँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको निर्देशक सुबेदीको भनाई थियो ।