कमल रेग्मी
भिरकोट, ५ माघ ।
भू सेवा केन्द्र तथा अनलाइन प्रणाली संचालन सम्बन्धी प्रशिक्षण कार्यक्रम स्याङ्गजामा सम्पन्न भएको छ।
मालपोत कार्यालय स्याङ्गजाको आयोजना र भुमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल, काठमाण्डौको सहजिकरणमा भू सेवा केन्द्र तथा अनलाइन प्रणाली संचालन सम्बन्धी प्रशिक्षण कार्यक्रममा जग्गा प्रशासन सम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन यो प्रणाली लागू गरिएको जानकारी दिइएको थियो । ।
कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक शिब कुमार पोखरेलले भू(सेवा केन्द्र सञ्चालनको लागि अनुमति लिनेरदिने प्रक्रिया, भू(सेवा केन्द्र सञ्चालन गर्ने प्रयोगकर्ताहरु, भू-सेवा केन्द्र सञ्चालनको लागि आवश्यक योग्यता, अनुमति पत्रको दस्तुर, अवधि तथा नवीकरण, अनुमति रद्द ,धरौटी वा बैक जमानत जफत तथा फिर्ता सम्बन्धी बिषयहरुको वारेमा जानकारी दिएका थिए।
“यो प्रणालीमा हरेक दिन मुलुकभर कति जग्गाको कारोवार भयो, कति खरीदबिक्री भयो, कति कर सङ्कलन भयो भन्ने जानकारी विभाग वा मन्त्रालयबाट पनि हेर्न मिल्छ । राजश्व सङ्कलनलाई यसले प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।” यो प्रणालीबाट देशभरिका जग्गा तथा जग्गाधनीको विवरण विभागको एउटै सर्भरमा केन्द्रीकृत रूपमा भण्डारण भई विभाग तथा सरोकारवालालाई आवश्यक पर्ने तथ्याङ्क र विवरण सजिलैसँग एकै ठाउँबाट प्राप्त गर्न सकिनेसमेत पोख्रेलले जानकारी दिएका थिए ।
भू-सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ मा भएका मुख्य मुख्य व्यवस्थाहरू विभागको वेव साईटमा गएर हेर्न र डाउनलोड गर्न सकिने पनि कार्यक्रममा जानकारी दिइएको थियो । जिल्ला समन्वय समिती स्याङ्गजाको सभा हलमा शनिवार सम्पन्न कार्यक्रमको औपचारिक सत्र भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत संजिब नेपालले संचालन गरेका थिए भने प्राविधिक सत्रको संचालन निर्देशक शिब कुमार पोखरेल, कम्प्युटर अधिकृत बलराम काफ्ले तथा सहजिकरण शाखा अधिकृत काजी बहादुर बिस्टले गरेका थिए ।
उक्त कार्यक्रममा मालपोत कार्यालय स्याङ्गजाको कार्य क्षत्राधिकार भित्रका ७ वटा स्थानिय तहका सुचना प्रविधि अधिकृत, वडा सचिव, कम्प्युटरअपरेटर, बैंक, सहकारी तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, कानुन व्यवसायी व्यक्ति तथा संस्थाका प्रतिनिधिहरु, लेखापढी व्यवसायी व्यक्ति तथा संस्थाका प्रतिनिधिहरु, घर जग्गा कारोबारी, रियल स्टेट, हाउजिङ कम्पनि तथा इजाजतप्राप्त व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उत्तरार्धमा बोल्दै मालपोत कार्यालय स्याङ्गजाका अधिकृत प्रकाश पौडेलले हिजोको ढंगले अबको प्रशासन नचल्ने, कार्यालयहरु डिजिटल कम्पिटेन्सीमा एडाप्ट हुनु पर्ने वताएका थिए । पब्लिक एक्सेस मोडल लागु गरी भू-सेवा संचालन गरि मालपोत कार्यालय र स्थानीय तह सबन्धित हुने कुरा राख्दै जनता तथा सेवाग्राहीलाई प्रविधिमैत्री वातारणको स्थापनाका लागि स्थानीय तह संग सहजीकरण गरेर अगाडी बढ्ने अठोट ब्यक्त गरेका थिए।