स्याङ्जा, २ मंसिर ।
स्याङ्जाको वालिङमा नेपाली नक्कली नोट भेटिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय वालिङमा नक्कली नोट भेटिएको हो ।
वालिङ नगरपालिका भित्रका विभिन्न तिन वटा सहकारी संस्थाबाट डिपोजिट भएको रकमबाट पाँच सय र एक हजारको नक्कली नोट भेटिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय वालिङका प्रमुख सुवास आचार्यले जानकारी दिएका छन् ।
राष्ट्रिय सहकारीमा डिपोजिट भएको रकम फेक नोट डिटेक्टर मेसिनबाट भेरिफाई गर्दा नक्कली भएको थाहा पाए पछि अन्य बैंकहरुमा पनि भेरिफाई गर्दा नक्कली नै प्रमाणित भएको आचार्यले बताए । पछिल्लो एक हप्तामा पाच सयका चार वटा र एक हजारको एक वटा गरी पाचँ वटा नक्कली नोट भेटिएको छ ।
भेटिएको नक्कली नोटलाई अहिले थप भेरिफीकेसनको लागि नेपाल राष्ट्र बैंक पोखरा शाखामा पठाएको आचार्यले जानकारी दिए ।
नक्कलि नोट जो कोहीले पनि सजिलै चिन्न नसक्ने हुदा बजारमा नक्कलि नोट भेटिए पनि थाहा नहुने आचार्यको भनाई छ । हरेक सहकारी संस्थाहरुमा फेक नोट डिटेक्टर मेसिन नभएको हुदाँ सबैले यो मेसिन राखेर नक्कली नोट फेरिफाई गर्नुपर्ने उनको भनाई छ ।
कसरी चिन्ने नक्कली नोट
पानीछाप (वाटरमार्क) : नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइटरमोबाइलको लाइट ) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
सुरक्षण धागो स् सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’ भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
पाँच सय रुपैयाँ र एक सय रुपैयाँको नोट पनि करिब–करिब चिन्ने तरिका उस्तै हुन्छ । तथापि नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लेखित सम्पूर्ण सुरक्षण विशेषताहरु भएरनभएकाबारे यकिन गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।