कुटनीतिक र राजनीतिक माध्यमवाट सिमा समस्या समाधान गर्छौ – मन्त्री बास्कोटा
स्याङ्जा, २२ कात्तिक ।
शाह बंशिय कुलदेवताको रुपमा परिचित आलमदेवी मन्दीरको तस्वीर अंकित हुलाक टिकट शुक्रवारवाट सन्चालनमा आएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको शुक्रवार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनावरण गरेका छन् ।
अनावरण कार्यक्रममा मन्त्री बाँस्कोटाले भारतले जारी गरेको नयाँ नक्साको विषयमा सरकार मौन बस्नु कुरा उठाउनै नसकेर नभएको बताएका छन् ।
उनले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न समेत आग्रह गरेका छन् । ‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौं’, प्रवक्ता बाँस्कोटाले थपे, ‘विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्याउने छौं ।’
‘सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन’, प्रवक्ता बाँस्कोटाको भनाइ थियो । ‘सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ’, प्रवक्ता बाँस्कोटाले भने, ‘सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।’
आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको प्रवक्ता बाँस्कोटाले बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरिन् । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, कालिगण्डकी गाँउपालिकाका प्रमुख खिमवहादुर थापा लगायतले यहाँको पर्यटकीय र सास्कृतिक महत्वका वारेमा आफ्नो धारणा राखेका थिए ।
हुलाक विभागका महानिर्देशक देवी ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कणेल, नेपाली सेनाका प्रधान सेनापती महारथी पूर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो ।
एकसय उत्कृष्ट गन्तब्यमा परेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताका रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको स्थल हो ।
वेगमाता वेगेश्वरी कुल देवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करीब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगङ्गाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बसेको किंवदन्ती छ ।
भीमसेन पातीको रुखबाट अलप भएकाले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलो रुपमा अलप देवीभन्दा भन्दै अपभ्रंश भई आलमदेवी बन्न पुगेको कथन छ । अत्यन्त सक्रिय देवीका रुपमा चिनिएकी आलमदेवी वैद्धिक विधिअनुसार अष्टमात्रिकाका रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आर्शिवाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवम् इच्छाइएको वरदान माग्दा पुग्ने र आयुसमेत लम्बाइन सकिने वरदान माग्दा पुग्ने विश्वास छ ।