भवानी अधिकारी / स्याङ्जा
स्याङ्जाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निजी क्षेत्रसंग सहकार्य गर्दे उद्योग ब्यवसायका लागि सहज वातावरण निर्माण गर्ने बताएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघद्धारा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले बिप्रेषणले धानेको मुलुकलाई सबै मिलेर यही रोजगार सृजना गर्नुपर्नेमा जोड दिएका थिए । कृषि, पर्यटन र जलबिद्युत परियोजना जिल्लाका मुख्य संभावना रहेको बताउदै त्यसतर्फ सरकार र निजीक्षेत्रले हातेमालो गर्दे अघि बढ्नु पर्ने उनको भनाई थियो ।
आफु सबै नागरिकको साझा र तिनवटै तहका सरकारको प्रतिनिधि भएको हुदाँ स्याङ्जामा रहदा बस्दा निस्वार्थ भावनाले सेवा प्रदान गर्ने बताए । कुनै राजनीतिक आग्रह र पूर्वाग्रहबाट प्रभावित नहुने बताउदै उनले भ्रष्टाचार र अनियमितालाई निर्ममतापूर्वक कारवाही गर्ने बताए ।
आफु प्रशासक नभई जनसेवक बन्ने बताएका छन् । गृह मन्त्रालयद्धारा गरिएको प्रजिअ मूल्यांकनमा देशकै सर्वोत्कृष्ठ प्रजिअ बन्न सफल कुरुम्वाङले नागरिकसम्म सेवा पुरयाउनु राष्ट्रसेवकको दायित्व र कर्तब्य रहेकोमा जोड दिएका थिए । उद्योग वाणिज्य संघसंगको सहकार्य गर्दे उपभोक्ताका हक, हित र सुरक्षाका लागि आवश्यकता अनुरुपका बिबिध कार्यक्रम अगाडी सार्ने योजनामा रहेको वताउदै सबैको सहकार्य आवश्यक रहेको औल्याए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, संघका प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, महिला उद्यमी समितिका संयोजक इन्द्रेणी अधिकारी, लगायतले जिल्लाका बस्तुस्थिती र ब्यवसायीका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले शान्ति, सुरक्षा प्रमुख आवश्यकता रहेको बताउदै संघको पहलमा पुतलीबजार नगरपालिका १ स्थित वीपीचोक देखि वडा नं. ३ सम्म सिसी क्यामरा जडानकार्य सुरु गरेको जानकारी दिए । साथै, उनले आउदो पुस महिनामा संघको पहलमा स्याङ्जा महोत्सव गर्न लागेको बताउदै आवश्यक सहयोग गर्न आग्रह गरे ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव भिमकुमार श्रेष्ठले गरेका थिए ।