कला राना / वालिङ, ५ कात्तिक ।
स्याङ्जाको वालिङमा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रममा सहभागिहरुले बढ्दो आधुनिकतासंगै प्रतिष्पर्धी बजारमा उपभोक्ता सचेतना नै महत्वपुर्ण पक्ष रहेको बताएका हुन् । वालिङ नगरपालिकाको आयोजनामा उपभोक्ता हित संरक्षण मञ्च नेपालको प्राविधिक सहयोग र द एसिया फाउण्डेसन, अष्टे«लियन एडकोको सहकार्यमा आयोजित नगपालिकास्तरीय उपभोक्ता सचेतना कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
विशेष गरी दैनिक उपभोग्य वस्तुमा अखाद्य वस्तुको मिसावट, अत्याधिक विषादीको प्रयोगले गर्दा स्वास्थ्यमा प्रतिकुल असर गर्ने र विभिन्न घातक रोगहरु निम्तने गरेका कारण वस्तु तथा सेवा उपभोग गर्ने उपभोक्ताहरु नै सचेत हुनुपर्ने बताएका हुन् । प्याकेजिङ खाद्य वस्तुहरु तथा औषधीहरु समेत मिति गुज्रिने मिति हरेर मात्रै किनमेल गर्न सहभागिहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले चलाख अथवा चनाखो हुनु नै बुद्धिमानी भएको भन्दै हामीले प्रयोग गर्ने हरेक वस्तुमा कहि कतैबाट मिसावट भईरहेकाले सचेत हुनुपर्ने धारणा व्यक्त गरेका छन । नगर प्रमुख खांणले नेपाली खानाको व्यवस्थापन समेत महत्वपुर्ण पक्ष भएकाले तयारी खाना भन्दा अर्गानीक, हरियो तथा काँचो खानेकुरा खानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वालिङ नगर उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समिति संयोजक कल्पना तिवारीले प्रत्येक ब्यक्ति सचेत हुनु आवश्यक रहेको औल्याईन । उनले अखाद्य बस्तु तथा गुणस्तरहिन बस्तुहरुको प्रयोगमा कमि गर्नका लागि यस खालका अन्तरक्रियात्मक कार्यक्रमहरु प्रभावकारी हुने धारणा व्यक्त गरिन ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले मुलुक संघियतामा गईसकेको अवस्थामा हरेक पालिकाले आ–आफ्ना बजार व्यवस्थापन देखि बजार अनुगमनका पक्षमा ध्यान दिनुपर्ने भन्दै कतिपय विषय जनशक्ति अभावमा समेत उपभोक्ताहरु मारमा परिरहेको उल्लेख गरेका थिए । उनले उजुरीको संस्कृति आम उपभोक्ताहरुमा विकास भईनसकेको भन्दै यस्ता सचेतना कार्यक्रमहरुलाई विस्तार गर्दै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं। १२ का अध्यक्ष दानबहादुर गुरुङ, दि एसिया फाउण्डेसनका गण्डकी प्रदेश फिल्ड संयोजक पुर्ण परियार, सम्पुर्ण क्याम्पसहरुको तर्फबाट वालिङ बहुमुखी क्याम्पस प्रमुख सचितानन्द यादव, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले मन्त्यव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च कास्कीका सचिव नेपाल प्रकाश अधिकारीले उपभोक्ता हित संरक्षण ऐन, अधिकारलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी र सञ्चालन मञ्चका वालिङ अध्यक्ष निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो ।