स्याङ्जा, जेठ ७ । “कृषि र पर्यटन समृद्धिको मूल आधार” भन्ने मूल नारालाई आत्मसात गर्दै पञ्चमुल महभिर टोलमा कृषि र पशुपालनमार्फत गाउँमै आत्मनिर्भर बन्ने अभियानलाई निरन्तरता दिइएको छ।
विदेशिने युवाको संख्या बढ्दै गएको यो परिस्थितिमा गाउँमै सम्भावना सिर्जना गर्न सकिने सन्देश दिन गत वर्षजस्तै यस वर्ष पनि कृषि ज्ञान केन्द्रको सहयोगमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत ६० थान पानी ट्यांकी, १५०० वटा चल्ला (कुखुराका चल्ला), र विभिन्न उन्नत जातका बीउबिजनहरू वितरण गरिएको छ। यसबाट गाउँका कृषक र पशुपालकहरूलाई प्रोत्साहन गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।
स्थानिय स्तरमा सानो देखिने यस्ता योजनाले दीर्घकालमा गाउँमा बस्ने वातावरण तयार पार्ने अपेक्षा गरिएको छ। “युवाहरूलाई गाउँमै रोक्न ठूला योजना मात्र होइन, साना-साना व्यवहारिक कार्यक्रमहरू पनि प्रभावकारी हुन्छन्,” स्थानीय नेतृ उर्मिला गुरूङको भनाई छ ।
नेपालमा विशेष गरी गाउँका युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका बेला स्थानीय तह र सम्बन्धित निकायले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र नियमित रुपमा अगाडि बढाउनुपर्ने आवश्यक देखिएको छ ।